काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।
मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल भएको थियो।
इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि ०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो। कार्यक्रम सञ्चालनका निम्ति नेपालका तर्फबाट सहसचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ।
छलफलमा मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम–प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा व्यक्त गरिन्।
इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणाअनुसार ५ हजारभन्दा बढी नेपाली विद्यार्थीहरुलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको छ। उक्त तालिमबाट नेपाली विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको मन्त्री अर्यालले बताइन्।
नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजारभन्दा बढी नेपालीहरु इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीहरुप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताइन्।
नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इजरायलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए।
नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ।