काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका छन्।
उक्त समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आजको विशाल जनताको उपस्थितिले पनि सम्मानित अदालतका न्यायाधीशहरुले जनता के चाहन्छन् भन्ने बुझिसकेको हुनुपर्ने बताए।
‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरुले पनि देख्नुभएको छ आज,’ उनले भने,‘यो हेर्दा ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा फैसला दिनुहुन्छ।’
संविधानको मर्म र भावनाविपरीत तथा जनताको मानमर्दन केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने उनको चेतावनी छ।
प्रतिगमन सच्चिएन भने केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न जनता आउने भन्दै उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा आयोजना गरिने बताए।