काठमाडौं– नेकपाको दाहाल-नेपाल स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले लोकतन्त्रको अपहरण गरेर ओलीले मनपरी शासन चलाइरहेको बताएका छन्।
दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘पुस ५ गते केपी शर्मा ओलीले राजनीतिक इतिहासमा कालो दिन अर्थात् कु गराउनुभएको छ,’ उनले भने, ‘विगतमा महेन्द्र र ज्ञानेन्द्रले कु गरेझैं त्यो इतिहास पुनरावृत्ति गरिएको छ।’
संविधानको बलात्कार गरिएको भन्दै उनले संसद् पुनःस्थापना गरेर प्रतिगमन खारेज गर्नुको विकल्प नभएको बताए।
‘संसद् विघटनबारे विभिन्न तर्क आइरहेका छन्,’ उनले भने, ‘यो संसद् भंग गरेर संविधानलाई कोमामा पुर्याइएको छ।’
कामचलाउ केपी शर्मा ओलीले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति लगायतका असंवैधानिक काम गरिरहेको उनले बताए।
‘यतिखेर लोकतन्त्रको अपहरण गरेर मनपरी शासन गरिएको छ,’उनले भने, ‘यो रक्षाका लागि प्रतिगमन परास्त गर्न जरुरी छ।’
ताजा जनादेशका नाममा वैशाखमा निर्वाचन गर्ने भनिएको भन्दै उनले संविधानले व्यवस्था गरेको निर्वाचनबाहेक अरु निर्वाचन जनताले नचिन्ने बताए। ओलीको तानाशाही पतन नभएसम्म आन्दोलन जारी रहने उनले बताए।