काठमाडौं– नेकपाको दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई केपी ओली प्रवृत्ति नदोहोरिने घोषणा गर्न आग्रह गरेकी छन्।
राजधानीमा बुधबार आयोजित आमसभामा उनले आफूहरूले व्यक्तिको विरोध नभई प्रवृत्तिको विरोध गरेको बताइन्। उनले अध्यक्षद्वयलाई सम्बोधन गर्दै भनिन्, ‘तमाम जनता उपस्थित भएको ठाउँमा अब ओली प्रवृत्ति नदोहोरिने घोषणा गर्नुस्।’
उनले संविधानको चीरहरण गर्नेविरुद्ध तथा सेटिङ र अँध्यारो कोठामा भएका षडयन्त्रविरुद्ध बोल्न पाइने बताइन्। झाँक्रीले भनिन्, ‘जंगी कागजी बादशाहले तहसनहस पारे। नागरिकको सार्वभौम अधिकार रक्षा गर्नका लागि हामी आएका हौं।’
ओलीलाई कागजी बादसाहको संज्ञा दिँदै उनले उनी अब ढलिसकेको र अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको बताइन्।
‘खलपात्रका विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर,’ उनले राष्ट्रपतिलाई लक्षित गरेको विषयमा भनिन्, ‘महिला अस्मिता त निर्मला, भागरथी लगायत बलात्कारपछि हत्या हुँदा हुन्छ। तिनका हत्यारामाथि कारबाही गरेको खोइ?’
उनले अहंकारी प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न कहिल्यै रोकटोक नहुने बताइन्। ‘सभामा हाम्रो उपस्थित देख्दा संसद् पुनःस्थापना हुने निश्चित भइसक्यो,’ उनले भनिन्।
सर्वोच्च अदालतले संविधानसम्मत नै फैसला गर्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको बताइन्।