सुर्खेत– कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमिितको संख्या शून्यमा झरेको हो।
दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो। ती जिल्लाका सबै संक्रमित निको भएसँगै संक्रमण शून्य भएको हो। कर्णालीका तीन जिल्लामा मात्र अहिले कोरोनाका सक्रिय बिरामी छन्।
सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना सङ्क्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन्।
कर्णाली प्रदेशमा ९७ हजार २३९ जनामा पिसिआर परीक्षण गरिएकामा सात हजार ५३४ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सङ्क्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ।
–रासस