काठमाडौं– चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १५.१९ प्रतिशत मात्र खर्च भएको छ।
आव २०७७/७८ का लागि विनियोजन गरिएको ९२ अर्ब ६ करोड २३ लाख रुपैयाँमध्ये पुस मसान्तसम्म १३ अर्ब ९८ करोड ८५ लाख खर्च भएको छ।
राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कुल बजेटको ६.२४ प्रतिशत हो।
चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी राजमार्ग, कर्णाली करिडोरको भौतिक प्रगति सन्तोषजनक छ।
सरकारले २५ ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर निर्माण अगाडि बढाएको छ।
ऊर्जा, सडक, रेल, सिँचाइ, खानेपानी, पर्यटन वनलगायत क्षेत्रका ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको दायरामा समेटिएको छ।