काठमाडौं- विभाजित नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभाको आयोजना गर्दैछ।
अहिले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्कने क्रममा छ। उपत्यकासहितका देशका विभिन्न स्थानबाट सहभागी हुन मानिसहरु काठमाडौं पुगेका छन्। विरोध जुलुकका कारण राजधानीको अधिकांश स्थानमा ट्राफिक जाम भएको छ।
अहिलेसम्मकै बृहत जनप्रदर्शन र विरोधसभा गर्न लागिएको दाहाल–नेपाल समूहको कार्यक्रममा यसअघिका भन्दा धेरै वक्ताहरुलाई बोल्ने समय निर्धारण गरिएको छ।
यसअघि आयोजित आमसभाहरुमा शिर्षस्थ नेताहरुले मात्रै सम्बोधन गर्दै आएका थिए। पार्टीभित्र नै त्यसका विषयमा नेताहरुको असन्तुष्टि देखिएपछि केन्द्रीय संघर्ष समितिले आजको विरोधसभामा वक्ताहरुको संख्या केही थपेको छ।
केन्द्रीय संघर्ष समितिका अनुसार आजको विरोधसभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
यस्तै प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, भीमबहादुर रावल, देवप्रसाद गुरूङ, जनार्दन शर्मा रहेका छन्।
त्यस्तै आजको विरोधसभाका केन्द्रीय कमिटी सदस्यहरु सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाक्री, महफुज अन्सारी, अमृता थापामगर र अञ्जना विशंखेले विरोधसभामा वक्ताका रूपमा सम्बोधन गर्ने भएका छन्।