काठमाडौं– नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।
सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो।
राजेन्द्र पराजुलीका विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्य जगत्लाई दिइसकेका छन्।
राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन्।
२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित हुनुका साथै पत्रकारितामा पनि सम्मानित छन्।