आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, सम्भव छ त?

शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, सम्भव छ त?

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी गरेको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं‐ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी गरेको छ। 

चालू आर्थिक वर्ष सकिनै लाग्दा अर्थमन्त्रीमा जनार्दन शर्मा आए। उनले सार्वजनिक हुन लागेको मौद्रिक नीति अध्ययन गर्न बाँकी रहेको भन्दै रोके। त्यस्तै अर्थमन्त्रीले मन्त्रालय आफू अनुकुल बनाउनका लागि अर्थसचिवमा आइतबार मधुकुमार मरासीनी ल्याए। उनले सोमबारमात्रै अर्थसचिवको कार्यभार सम्हालेका छन्। 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य अर्थ सचिव हुने प्रावधान रहेको छ। भर्खरै सरुवा भएका अर्थ सचिवले राष्ट्र बैंकमा सदस्यको शपथ पनि खानुपर्ने छ भने उनले आफूले मौद्रिक नीतिको अध्ययन गर्न चाहेमा केही दिन पर सर्नेछ। 

त्यस्तै लेखा समितिले बुधबार चालू आर्थिक वर्षको मौद्रिक नीति कस्तो बनाउने भन्ने विषयमा छलफल गर्दैछ। बुधबार छलफलपछि त्यहाँबाट आएको निष्कर्ष मौद्रिक नीतिमा समेट्नुपर्ने भएकोले पनि मौद्रिक नीति जारी गर्न केही समय लाग्ने राष्ट्र बैंकले जनाएको छ। 

अर्कोतर्फ सोमबार गभर्नरले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा शुक्रबारसम्म मौद्रिक नीति ल्याउनुपर्ने र सोही दिन ल्याउन सकिने संकेत गरेका थिए। 

राष्ट्र बैंकले समयमै मौद्रिक नीति ल्याउन नसकेको भन्दै पूर्वगभर्नरदेखि अर्थविद्सम्मले आपत्ति जनाइरहेका छन्। उनीहरुले अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्ततामाथि नै प्रश्न खडा हुने गरी हस्तक्षेप गरेको बताउँदै आइरहेका छन्। 

सामान्यतया देशको बजेट सार्वजनिक भएको एक महिनभित्रमा मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ। 

प्रकाशित: Aug 02, 2021| 21:18 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्