काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएको जनाएको छ।
मन्त्रालयका अनुसार पाँचौं दिनसम्ममा देशभर ६८ हजार ५३८ जनाले खोप लगाएका छन्। प्रदेश १ मा ९ हजार ४९४ जना, प्रदेश २ मा ७ हजार ६५८ जना, बागमती प्रदेशमा २२ हजार ९७८, गण्डकीमा १० हजार २५५, लुम्बिनीमा ८ हजार ३५९, कर्णालीमा ४ हजार ४१९ र सुदूरपश्चिममा ५ हजार ३७५ जनाले कोभिसिल्ड लगाएको मन्त्रालयको तथ्यांक छ।
कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी भएको भन्दै अनावश्यक अफवाह नफैलाउन मन्त्रालयले आग्रह गरेको छ। खोप लगाइसकेपछि ज्वरो आउने, वाकवाकी लाग्ने, खोप लगाएको ठाउँमा दुख्ने, अल्छी लाग्ने, शरीर दुख्ने, जोर्नी दुख्नेजस्ता सामान्य असर देखिए पनि यी सबै लक्षण केही समयमा नै ठिक हुने खोप महाशाखाका प्रमुख डा. झलकप्रसाद गौतमले बताए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोपसम्बन्धी समाचार बनाउँदा आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरेका छन्। खोपपछिको अनुगमन तथा व्यवस्थापनका लागि देशैभर विज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार खोप लगाएका केहीमा सामान्य असर देखिए पनि केही समयपछि आफैँ निको भएको छ। हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन। ढुक्क भएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।