मंगलबार, चैत १०, २०८२

‘खोप लाउँदा केही दिन गाह्रो होला, नलाउँदा सधैं जोखिम’

कतिपय फ्रन्टलाइनर खोप लगाउन हिचकिचाएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको आज शुक्रबार तेस्रो दिन हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो दिनसम्ममा २८ हजार ७३२ जनाले खोप लगाइसकेका छन्। पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई खोप दिने काम भइरहेको छ। 

National life

कतिपय फ्रन्टलाइनर भने खोप लगाउन हिचकिचाएका छन्। खोप लगाएका केहीमा साइड इफेक्ट देखिएको भन्दै उनीहरु खोप लगाउन डराएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलका अनुसार पहिलो दिन खोप लगाएका २९ मध्ये २३  जनामा खोप लगाइसकेपछि कुनै न कुनै प्रकारको समस्या देखिएको थियो। टाउको दुख्ने, मांसपेशी दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने, सुई लगाएको ठाउँमा रातो हुने, कुनै समयमा सास फेर्न अप्ठयारो हुनेजस्ता प्रतिक्रिया उनीहरुमा देखिएको थियो।

खोप लगाएको आधा घण्टामा प्रतिक्रिया देखिने भए पनि उनीहरुलाई लामो समयपछि ती समस्या देखिएको थियो। त्यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि केही स्वास्थ्यकर्मीलाई खोप लगाइसकेपछि स्वास्थ्यमा समस्या देखिएको थियो। डा. बास्तोला भन्छन्, ‘जुनसुकै खोप लगाउँदा पनि यस्ता समस्या देखिन्छन्, यसलाई सामान्य रुपमा लिनुपर्छ।’

जनस्वास्थ्यका विज्ञ डा. समिरमणि दीक्षित चिकित्सकका प्रतिक्रियाबाहेकका ‘फेक समाचार’लाई लिएर अवधारणा बनाउनेहरुले भ्रम फैलाएको बताउँछन्। भन्छन्, ‘वास्तवमा यो खोप नेपालका लागि निकै सुरक्षित छ, जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया हुन्छ नै। शरीरमा खोप पुगिसकेपछि उक्त खोपले शरीरमा कुनै पनि प्रतिक्रिया दिनैपर्छ। तर केही समयमा नै ठिक हुन्छ। यसमा आत्तिनुपर्ने कारण नै छैन। विश्वभर लाखौं मानिसले यो खोप लगाइसकेका छन्। तर, कसैलाई पनि गम्भिर समस्या देखिएको छैन।’

Laxmi sunrise bank
kumari

दीर्घरोगीलाई भने खोपको असर केही फरक हुन सक्ने दीक्षित बताउँछन्। भन्छन्, ‘दीर्घरोगी सधैं शंकाको घेरामा हुन्छन् तर भ्याक्सिनको कारण होइन। त्यसैपनि उनीहरुको शरीर शिथिल भएको हुन्छ, त्यसमाथि भ्याक्सिन लगाउँदा रोगविरुद्ध प्रतिरक्षा प्रणाली स्थापना हुने क्रममा शरीरमा प्रतिक्रिया अरुभन्दा फरक आउन पनि सक्छ।’

अन्य व्यक्तिलाई भन्दा दीर्घरोगीलाई केही अप्ठेरो भए पनि डराउनुपर्ने कारण नभएको डा. दीक्षित बताउँछन्। भ्याक्सिन लगाउँदा एक–दुई दिन अप्ठेरो झेल्नुपर्ला, तर नलगाउँदा सधैं जोखिम हुन्छ। त्यसैले नडराई लगाउनुपर्छ,’ दीक्षित भन्छन्।

सरकारले गठन गरेको खोप समितिका सदस्य तथा खोपविज्ञ डा. श्यामराज उप्रेती पनि नेपालमा हालसम्म कुनै गम्भिर समस्या नदेखिएको बताउँछन्। उनका अुनसार खोप लगाइसकेपछि सामान्य प्रतिक्रिया देखिन्छ, त्यो स्वाभाविक हो।

‘अन्य खोपले पनि यस्ता प्रतिक्रिया दिन्छन्। यो भ्याक्सिनले शरीरमा एन्टिबडी बनाउने क्रममा प्रतिक्रिया देखिन्छ। यो दुई–तीन दिनभित्रमा आफैं सञ्चो हुन्छ। कसैलाई अलि धेरै असर पर्नसक्छ, तर गम्भिर असर देखिने व्यक्तिमा खोप लगाएको आधा घण्टामा नै त्यसको प्रतिक्रिया देखिन सुरु गर्छ,’ उप्रेती भन्छन्। त्यस्तो समस्या देखिन सक्छ भनेर नै सरकारले अनुगमन टोली तथा उपचारको व्यवस्थापन गरेको उनले बताए।

उनले थपे, ‘यो खोपले प्रति १० लाखमा १ जनालाई गम्भिर समस्या देखिन सक्छ। कुनै पनि देशमा अहिलेसम्म गम्भिर समस्या देखिएको रिपोर्ट आएको छैन।’

प्रकाशित: Jan 29, 2021| 07:58 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्