काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले घरेलु क्रिकेटमा विभागीय टिम मात्र नभएर प्रदेशिक टिम पनि बलियो बनाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री कप क्रिकेटको दोस्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएपछि उनले प्रदेशको क्रिकेट टिमलाई अझै बलियो बनाउन ध्यान दिनुपर्ने बताए।
नेपाली घरेलु क्रिकेटमा सँधै पुलिस र आर्मीका विभागीय टिमको बर्चस्व रहँदै आएको छ। पीएम कपका चारै शृंखलामा विभागीय टिमले मात्र फाइनल सम्मको यात्रा गरेका छन्।
तर आज सम्पन्न दोस्रो सेमिफाइनल खेलबाट बागमतीको फाइनल पुग्ने सम्भावना भए पनि ऊ उपाधि होडबाट बाहिरिएको छ। यसकारण पुनः एकपटक पीएम कपको फाइनल खेलमा विभागीय टिम मात्र पुगेका छन्।
आजको खेलमा हार बेहोर्दै बागमती पीएम कपको फाइनलमा पुग्ने पहिलो प्रादेशिक टिम हुनबाट चुक्यो।
त्रिभुवन आर्मी क्लबसँग ९४ रनको हारपछि उनले प्रदेशको टिम पनि खेलाडीको प्राथमिकतामा पर्नुपर्ने बताए।
‘समग्र प्रतियोगिता हेर्ने हो भने बागमतीका युवा खेलाडीले राम्रो गरेका छन्,’ उनले भने, ‘यसले आउने दिनमा विभागीय मात्र नभएर प्रदेशको टिम पनि अघि आउन सक्छ भन्ने भाव पैदा गरेको छ।’
यसलाई निरन्तरता दिनका लागि अब सम्बद्ध नियकाले प्रतियोगिता खेल्ने वातावण तयार गरिदिनुपर्ने उनले बताए। उनले भने, ‘अब हामीले एक्सपोजर दिँदै जानुपर्छ। त्यसकारण वर्षमा एउटा खेलेर अरु दिन घरमा बसेर नेटमा खेलेर प्रगति हुँदैन्।’
उनले प्रादेशिक टिमलाई महत्व दिनुपर्ने बताए पनि प्रदेशका खेलाडी नियमित अभ्यास गर्न नसकेको दुखेसो पोखेका छन्।
आज(बिहीबार) सम्पन्न सेमीफाइनल खेलमा हारको एउटा कारण सम्झाउँदै उनले भने, ‘सुरुदेखि नै राम्रो पकडमा थियौँ। त्यसकारण हामीले आफ्नो काम गर्यौ भने सहज हुन्छ भन्ने थियो।’
सेमिफाइनलको रणनीति
आजको खेलमा कप्तान मल्लले टस जितेर फिल्डिङ रोजेका थिए। तर उनले सोचेजस्तो भएन।
‘बिहान जस्तो सोचेको थियो, अवस्था त्यस्तो भएन। उनीहरुलाई सुरुमा ब्याटिङ दिएर दबाबमा राख्ने भनेको थियो,’ मल्ल भन्छन्, ‘सुरुमा त्यो भएको पनि थियो तर फिल्डर्सका साना गल्तीका कारण आर्मीको रन धेरै हुन पुग्यो।’
बामगतीले केही महत्वपूर्ण क्याच गुमाउँदा आर्मीका बिक्रम शोब र राजेश पुलामीले ९२ रनको साझोदारी गर्न सफल भए। त्यसपछि बागमतीले २३० रनको लक्ष्य पाएको थियो।
तर जवाफी ब्याटिङमा सुरुको १० ओभर सम्हालिन नसक्दा बागमतीले हार सहनु बेहोर्यो। कप्तान सम्झन्छन्, ‘फिल्डिङमा समस्या त थिँदै थियो, त्यसमाथि सुरुवाती ब्याटिङमा सम्हालिन नसक्दा गाह्रो भयो। सुरुमा सम्हालिएर खेल्न सकेको भए प्रादेशिक टिम पहिलोपटक फाइनलमा पुग्न सक्ने थियो।’
बागमती प्रदेशले खराब सुरुआत गर्दै १८ रनमा पाँच विकेट गुमाइसकेको थियो। यसकारण कप्तान मल्ल पछिल्लो खेलभन्दा एक स्टेपअघि नै ब्याटिङमा आएका थिए।
घरेलु प्रतियोगितामा राम्रो कमब्याक गरेका पृथु बास्कोटा एक रनमै आउट भए भने इशान पाण्डेले खाता खोल्न सकेनन्।
आजको हारमा कप्तान दुई कुराको कमी भएको बताउँछन्। एक सुरुआति ब्याटिङ राम्रो नभएको अर्को क्याच मिस भएको। उनी भन्छन्, ‘आर्मीको क्याचहरु स्टिक भयो तर हाम्रो भएन्।’
यसकारण खेलाडीलाई क्रिकेटको सबै फ्याक्टरमा कायम राख्नका लागि नियमित क्रिकेटको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘अब प्रदेशमा आइसकेपछि खेलाडीलाई पुस गर्ने फ्याक्टर भनेको स्कुल र कलेज लेभलको क्रिकेट हुनुपर्छ र धेरैभन्दा धेरै क्रिकेट खेल्नुपर्छ भन्ने हो।’
जारी पीएप कपबाट उनले युवा खेलाडी अघि आएका छन् र केही जनाले खेलाडीले क्रिकेटमा कमब्याक गरेको बताएका छन्।
उनले अन्तिममा भने, ‘एक्पोजरका साथै पचास ओभरको खेल नभइरहेको समयमा खेल हुनु नै राम्रो हो।’