मंगलबार, चैत १०, २०८२

कोरोनाविरुद्धको खोप अभियान ५९ देशमा, दक्षिण एसियामा नेपाल दोस्रो

अपेक्षा गरेभन्दा दुई महिनाअघि नै पहिलो चरणको खोप आइपुगेको हो।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– गत वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नामकरण गरिएको) बाट पूरै विश्व प्रताडित हुन पुग्यो। १० करोडभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित हुन पुगे। यीमध्ये साढे २१ लाखभन्दा बढीको ज्यान गइसकेको छ।

National life

संक्रमित हुने र मर्ने क्रम अझै रोकिएको छ। अहिले पनि विश्वभर साढे २ करोडभन्दा बढी मानिस यो संक्रमण बोकेर हिँडिरहेका छन्। यीमध्ये १ लाखभन्दा बढीको स्वास्थ्य अवस्था गम्भीर छ। नेपालमा पनि २ लाख ७० हजारभन्दा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यीमध्ये २ हजार २० जनाको मृत्यु भएको छ।  

कोरोना महामारी सुरु भएको करिब १ वर्षपछि वैज्ञानिकहरुले यसको रोकथामका लागि खोपको विकास गरेका छन्। अनेक प्रयासका बाबजुद पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको कोरोना महामारी खोपबाट नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

विश्वकै ठूलो खोप अभियान अहिले चलिरहेको छ। विभिन्न कम्पनीले तयार गरेको खोप अहिले ५९ वटा देशले आफ्ना नागरिकलाई लगाइरहेका छन्। अहिलेसम्म करिब १० करोड मानिसले कोरोनाको खोप लगाइसकेको अनुमान छ। दैनिक करिब ४० लाखले खोप लगाइरहेका छन्।

खोप अभियानमा अमेरिका, बेलायत, क्यानडा, चीन, भारत, साउदी अरेबिया, डेनमार्क, जर्मनी, इटाली, स्पेन, फ्रान्स, ब्राजिल, रसिया आदि मुलुक अगाडि छन्।

Laxmi sunrise bank
kumari

नेपालमा पनि हिजो बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। भारतले अनुदानमा दिएको १० लाख डोज कोभासिल्ड भ्याक्सिन नेपालीले लगाइरहेका छन्। 

बुधबार पहिलो दिन ९ हजारभन्दा बढीले खोप लगाएका छन्। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,  सफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक, खोप केन्द्रमा खटिने कर्मचारी, स्वास्थ्य स्वयंसेविकाहरु, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रममा रहेका र कार्यरत व्यक्ति तथा सुरक्षाकर्मीहरुलाई लगाइने छ। 

प्रधानमन्त्री केपी ओलीले ३ महिनाभित्र आवश्यक पर्नेजति सबै नेपालीलाई कोरोनाको खोप दिने घोषणा गरेका छन्। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि चाहिने जति खोप सो अवधिमा ल्याइने दाबी गरेका छन्। पहिलो खेप पनि मन्त्री त्रिपाठीकै विशेष पहलमा आएको बताइएको छ।

अपेक्षा गरेभन्दा दुई महिनाअघि नै पहिलो चरणको खोप आइपुगेको हो। स्वास्थ्य मन्त्रालयले नै केही समयअघि मार्चमा मात्र खोप ल्याउन सकिने बताएको थियो। 

भारतले खोप अभियान सुरु गरेको एक साताभित्रै नेपालमा पनि खोप लगाउन थालिएको छ। दक्षिण एसियामा कोरोनाको खोप लगाउने नेपाल दोस्रो मुलुक हो। बंगलादेश र भुटानलाई पनि भारतले १० लाख डोज दिएको छ तर त्यहाँ लगाउन सुरु भएको छैन। 

नेपालले पाएको खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले तयार गरेको र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो। यसको प्रभावकारिता ७० प्रतिशत बताइएको छ।

तथ्यांक स्रोत  : वर्ल्डओमिटर, ब्लुमबर्ग
 

प्रकाशित: Jan 28, 2021| 02:24 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्