शनिबार, भदौ २०, २०८३

लुम्बिनीमा नेकपा : शक्ति प्रदर्शनको प्रतिस्पर्धा 

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा नेकपा ओली समूह र दाहाल–नेपाल समूहले दैनिकजसो कार्यक्रम गर्ने गरेका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

बुटवल– संसद् विघटनपछि दुई समूहमा विभाजित नेकपाले प्रदेश केन्द्रित शक्ति प्रदर्शनमा प्रतिस्पर्धा गर्न थालेका छन्। एक समूहले अर्को समूहको चर्को आलोचना गर्दै प्रदर्शन, कार्यकर्ता भेला, बैठक तथा पत्रकार सम्मेलन गर्ने होडबाजी नै चलेको छ। 

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा नेकपा ओली समूह र दाहाल–नेपाल समूहले दैनिकजसो कार्यक्रम गर्ने गरेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै दुई समूहमा विभाजित नेकपामा समर्थन र विरोधमा सडक प्रदर्शन भएको थियो। 

बुटवल प्रधानमन्त्री ओलीका विश्वासपात्र तथा नेकपा महासचिव विष्णु पौडेलको गृहनगर हो। प्रधानमन्त्री ओलीका अर्का विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश अस्थायी राजधानी बुटवलमै बस्छन्।

यी दुवै नेता प्रधानमन्त्रीका रक्षाकवच बनेकाले पनि बुटवलमा ओली समूहले आफ्नो वर्चस्व कायम राख्न खोजेको छ। जसका कारण कार्यकर्ता पनि शक्ति प्रदर्शन गर्न उद्दत देखिन्छन्। 

त्यसो त रुपन्देही दाहाल–नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुसालको गृहजिल्ला हो। अस्थायी मुकाम बुटवलसँगै जोडिएको तिलोत्तमामा उनको घर छ। यसका साथै नेकपा दाहाल–नेपाल समूहका नेताहरु वर्षमान पुन, युवराज ज्ञवाली, ओनसरी घर्ती र ठाकुर गैरे नियमितजसो बुटवलमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुने गरेका छन्।

पार्टी विभाजनलगत्तै ओली समूहले अगुवा कार्यकर्ता भेलाका नाममा गत पुस १९ गते बुटवलमा शक्ति देखाउनका लागि कार्यकर्ता भेला गरेको थियो। त्यसलगत्तै फाट्टफुट्ट नियमित कार्यक्रम गरेको ओली समूहले मंगलबार युवा संघले शक्ति देखाउनकै लागि मोटरसाइकल र्‍याली निकाल्यो।

प्रधानमन्त्री ओलीका विश्वासपात्र मध्येका एक नेता महेश बस्नेतले युवा संघको र्‍यालीलाई चुनावपछिको विजयोत्सवका रुपमा चित्रण गर्दै आफूहरुसँग कार्यकर्ताको भीस्ड रहेको जिकिर गरे। मंगलबार नै दाहाल नेपाल समूहले छुट्टाछुट्टै ठाउँमा प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले संसद् पुनर्स्थापनाका लागि आन्दोलन चर्काउने बारेमा छलफल भइरहेको थियो। 

दाहाल–नेपाल निकट नेकपा प्रचार–प्रसार समितिको आयोजनामा संविधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा रुपन्देहीका पत्रकार, लेखक–विश्लेषक र सम्पादकहरुसँग छलफल भयो। जहाँ घनश्याम भुसालले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीले व्यवस्थासँग बदला लिन गरेको सवैधानिक कू भएको बताएका थिए। उक्त समूहकै दलित सम्बद्ध कार्यकर्ता भेलामा समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले ओली कदमका विरुद्ध सडकमा आन्दोलत तताउन कार्यकर्तालाई निर्देशन दिए। 

नेकपाभित्रको विवादले उग्ररुप लिँदै जाँदा लुम्बिनी प्रदेशको मुकाम बुटवलसहित १२ वटै जिल्लामा विरोधसभा र चुनावीसभा सुरु भएको छ। ओली समूहले संसद् विघटन बाध्यकारी भएकाले अब ताजा जनादेशमार्फत् देशमा समृद्धि र विकास गर्ने बताउँदै मतदाता ‘कन्भिन्स’ गर्न लागिपरेको छ।

दाहाल–नेपाल समूहले भने प्रधानमन्त्रीले सनकका भरमा संवैधानिक कू गरेकाले यसलाई नरोके मुलुकले प्राप्त गरेको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नै गुम्ने बताउँदै विरोधसभा र सडक संघर्षका लागि आह्वान गरेका छन्। 

लुम्बिनीमा आफ्नो पक्षमा कार्यकर्ता टिकाउनका लागि दुवै पक्षले विभिन्न अभियान चलाइरहेका छन्। अर्थमन्त्रीसमेत रहेका ओली समूहका महासचिव विष्णु पौडेल १०–१५ दिनको फरकमा रुपन्देही आउन थालेका छन्। उनले रुपन्देहीमा एकैदिन दर्जनको हाराहारीमा शिलान्यास, उद्घाटन र कार्यकर्ता भेटघाटका कार्यक्रम गर्ने गरेका छन्।

पौडेलले चुनाव केन्द्रित शिलान्यास, उद्घाटन गर्दै ताजा जनादेशमा जान जनमत तयार गर्ने गरी भाषण गर्ने गरेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएका आयोजना पनि पुनः उद्घाटन, कतिपयको शिलान्यास जस्ता कार्यक्रम बनाएर जिल्ला दौडाहामा व्यस्त भएका छन्। ओली पक्षका पौडेल, पोखरेलसहित टोपबहादुर रायमाझी पनि यहाँ कार्यकर्ता भिज्ने प्रयास गरिरहेका छन्। 

दाहाल–नेपाल समूहका घनश्याम भुसाल, वर्षमान पुन, युवराज ज्ञवाली, ठाकुर गैरे आदि आफ्नो पक्षलाई बलियो बनाउने अभियानमा सामेल भएका छन्। ओली पक्षले माघ १२ गते दाङमा प्रधानमन्त्री ओलीलाई लगेर शक्ति प्रदर्शन नै गरेको छ।

तुलनात्मक रुपमा कार्यकर्ता भेला, अन्तरक्रिया, छलफल, पत्रकार सम्मेलन गरे पनि शक्ति प्रदर्शन नगरेको दाहाल–नेपाल समूहले पनि ओली समूहलाई काउन्टर दिने गरी बिहीबार (माघ १५) बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रदेशका विभिन्न जिल्ला, जनवर्गीय संगठनबाट समेत बुटवलको सडकमा उतार्ने तयारी गरेको दाहाल–नेपाल समूहले जनाएको छ।

‘बुटवल ऐतिहासिक सहर हो। यहाँको आन्दोलनबाट प्रतिगामी कदमका विरुद्ध निर्णायक आन्दोलन हुन्छ,’ संघर्ष समितिका संयोजक ठाकुर गैरेले भने। उनले संसद् विघटनबाट संविधान र लोकतन्त्रमाथि नै प्रहार भएकाले यसको रक्षाका लागि नागरिक स्वाभाविक रुपमा सडकमा आउने दाबी गरे। दुवै समूहले एकले अर्कोलाई खुल्याउँदै भाषण गर्ने गरेका छन्। 

कोरोनाको जोखिम कायमै छ। जनजीविकाका सवालमा पनि दुवै पक्ष गम्भिर छैनन्। स्थानीय खुलेर कुनै पक्षमा लागेका छैनन्। सत्ताबाट फाइदा पाएका कार्यकर्ता ओलीको पक्षमा छन्। दाहाल–नेपाल पनि लोकप्रिय छैनन्। 

प्रकाशित: Jan 27, 2021| 07:32 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।