शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरला नाकाबाट भित्रिएका मालवाहक सामान अब चोभारमै जाँचपास गरिने

कोरला नाकाबाट भित्रिएका मालवाहक सामान अब चोभारमै जाँचपास गरिने

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं। गत भदौ १० गते बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका सामान अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमै जाँचपास गर्न सकिने भएको छ। 

भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयबाट पैठारीका लागि आएका वस्तुलाई आन्तरिक परिवहन सुविधाअन्तर्गत सिधै चोभारसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो। 

यससँगै कोरला नाका हुँदै आएका मालवस्तुलाई मुस्ताङमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। तोकिएका सर्त र प्रक्रिया पूरा गरी अर्को निर्णय नभएसम्म यो सुविधा लागू रहने विभागले जनाएको छ। 

विभागले मालबाहक सवारीका लागि निश्चित सडक रुटसमेत तोकेको छ। कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभार सुक्खा बन्दरगाह पुग्नेछन्। 

उक्त रुटमा समस्या आएमा वैकल्पिक रूपमा मुग्लिङ–नारायणघाट–हेटौंडा–भैँसे–नौबिसे–कलंकी–चोभार मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। 

यस्तै, गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्ने व्यवस्था गरिएको छ। रसुवागढी नाका विनाशकारी बाढीबाट ठूलो क्षति पुगेपछि नेपाल–चीन व्यापारका लागि कोरला नाकाको प्रयोग बढाइएको छ।

यस्तो अवस्थामा चोभारमै भन्सार जाँचपासको सुविधा उपलब्ध हुँदा आयातकर्ताको प्रक्रियागत झन्झट कम हुने र ढुवानी व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ। यो व्यवस्थाले विशेषगरी चीनबाट आउने मालसामानलाई वैकल्पिक मार्गमार्फत काठमाडौंसम्म ल्याउन र एकै स्थानबाट जाँचपास गर्न सहयोग पुग्ने देखिएको छ।

प्रकाशित: Sep 04, 2026| 16:14 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्