काठमाडौं – प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आरिफ शेखले तीन महत्त्वपूर्ण विकेट गिराउँदा सशस्त्र प्रहरीको एपीएफ टिमले पुलिसलाई २०४ रनको लक्ष्य दिएकाे छ।
त्रिविको क्रिकेट मैदानमा आज (बुधबार) जारी खेलमा शेखले सुवास खकुरेल, शरद भेषवाकर र सुमीत महर्जनको महत्त्वपूर्ण तीन विकेट गिराउँदा एपीएफले सहज सुरुआत गर्न सकेन।
टस हारेर ब्याटिङमा आएको एपीएफले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको छ।
एकदिवसीय खेलमा उत्कृष्ट ब्याट्सम्यान रहँदै आएका एपीएफका कप्तान शरद भेषवाकर १८ रनमा पेवेलियन फर्किए। उनले २६ बलमा दुई चौका हिर्काउँदै १८ रन जोडेका थिए।

त्यसअघि ब्याटिङमा आएका सुवास खकुरेल १९ रनमा आउट भए भने अर्का ओपनर असिफ शेखले एक रन मात्र जोड्न सके।
१३ ओभर तीन बलसम्ममा ४३ रन बनाएर चार विकेट गुमाउँदै खराब अवस्थामा रहेको एपीएफका सन्दीप जोरा र शंकर रानाले केही विकेट सम्हालिएर खेले।
तथापि जोराले ४३ बलमा ३४ रन बनाए। रानाले ९६ बलमा ४४ रनको योगदान दिए। उनीहरूले ६४ रनको साझेदारी गरे।
बलिङतर्फ पुलिसका आरिफ शेखले एक मेडन राख्दै तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३१ रन प्रदान गरे।
४६ ओभर दुई बलमा एङ्कल इन्जुरीका कारण आरिफ शेख बाहिरिएपछि एपीएफको ब्याटिङ चम्किएको थियो। यस क्रमका कुशल भुर्तेलले दोस्रोपटक क्याच मिस गरे।
यसको फाइदा लिँदै भुवन कार्कीले ४२ रन बनाए भने कमलसिंह ऐरीले १९ रनको योगदान दिए।
तर, यी दुवै खेलाडी ललितसिंह राजवंशीको बलमा आउट भएपछि एपीएफ फेरि दबाबमा आयो।
पुलिसका लागि सागर ढकाल र राशिद खानले एक विकेट गिराए भने दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।
आजको खेलमा जित निकाल्ने टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिने छ।
फाइनल खेल माघ १७ गते शनिबार त्रिवि मैदानमा हुनेछ।