काठमाडौं– कोरोना भाइरसविरुद्ध सरकारले सुरु गरेको खोप अभियान आज बुधबारबाट सुरु भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई खोप लगाइने छ।
सातै प्रदेशका फ्रन्टलाइनरले खोप लगाउन सुरु गरिसकेका छन्। चिकित्सकले कोभिसिल्ड सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह गरेका छन्।
भक्तपुर अस्पतालमा सिनियर अनमी तारा शाहले अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमलाई खोप लगाएर खोप अभियान शुभारम्भ भयो। खोप लगाउँदै गर्दा उनी निकै उत्साहित देखिइन्। शाहले खोप अभियानमा काम गरेको २५ वर्ष भइसकेको छ । यो अवधिमा सबैभन्दा खुसी अहिले नै लागेको उनले सुनाइन्। भनिन्, ‘२५ वर्षको अवधिधिमा आज सबैभन्दा आनन्दको क्षण बनेको छ।
महामारी सुरु भएदेखि नै खोपको प्रतीक्षामा थियौं। कहिले खोप आउला र राहतको सास फेर्न पाउँला भन्ने थियो। आज खोप लगाउन पाउँदा महामारीको युद्ध जितिएला भन्ने लागेको छ।’
खोप लगाउँदाको अनुभव सामान्यतया उस्तै भए पनि आजको सन्तुष्टि फरक भएको उनले सुनाइन्।
खोप लगाएपछि मेसु गौतमले नेपालको लागि यो खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह गरिन्।
भक्तपुर अस्पतालमा खोप लगाइसकेपछि निगरानीमा राखिने व्यवस्था छ। साथै घर पुगिसकेपछि समस्या आएमा इमर्जेन्सीमा आउन अस्पतालले आग्रह गरेको छ।