धनगढी – बझाङमा युवकको हत्या गर्न वडाध्यक्षको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको खुलेको छ।
छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरेर विभत्स हत्याको घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको कुरा आएको बताए।
हत्या प्रकरणमा स्वयं वडाध्यक्षसमेत शंकाको घेरामा रहेकाले थप कुरा अनुसन्धानपछि मात्र खुल्ने खड्काको भनाइ छ।
उनको मोटरसाइकल प्रयोगबारे वडाध्यक्षसँग बुझ्न खोजिए पनि प्रयास सफल हुन नसकेको खड्का बताउँछन्।
ऐडी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।
डीएसपी खड्काका अनुसार सिंहको हत्यामा संलग्न भएको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायतलाई पक्राउ गरिएको छ। अर्का युवक प्रकाश ऐडी फरार छन्।
प्रकाश नातामा वडाध्यक्ष ऐडीका भाइ पर्ने प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार वडाध्यक्षको मोटरसाइकलमा खुँडासहित आएका उनीहरूले सिंहको हत्या गरेका थिए।
छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको प्रहरीको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भएका थिए।
हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित बोहरा निकटका व्यक्ति रहेको डीएसपी खड्काको भनाइ छ।