काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक अभियन्ताद्वारा काठमाडौंमा सोमबार आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीबाट भएको धरपकडप्रति आपत्ति जनाएको छ।
प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही मानव अधिकारकर्मी र अभियन्ता घाइते भएका थिए।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत हो। यसतर्फ संवेदनशील हुन आयोग आग्रह गर्दछ।'
आयोगले कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।