काठमाडौं– गत पुस ५ मा संसद् विघटन भएपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको कुनै समूहमा नगएका उपाध्यक्ष वामदेव गौतमले भोलि बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन्।
गौतमको सचिवालयका अनुसार भोलि बिहान ११ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा अभियानको घोषणा गर्न लागिएको हो। गौतमले ५०१ सदस्यीय एकता अभियान समितिको घोषणा गर्नेछन्।
अभियान घोषणा कार्यक्रममा गौतमले लेखेको जनताको वहुदलीय जनवाद (तुलनात्मक अध्ययन) र एक्काइसौँ शताव्दीको कम्युनिष्ट पार्टी पुस्तक विमोचन गर्ने कार्यक्रमसमेत छ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले कार्यकर्ताको माग र चाहनालाई सम्बोधन गर्न एकता राष्ट्रिय अभियान सञ्चालन गर्न लागेका हुन्।
‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको छ,’ गौतमको सचिवालयले भनेको छ।