काठमाडौं - वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै वैकल्पिक सरकारको विकल्प हुने बताएका छन्।
आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै उनले सदनमा नै नगएर निर्वाचन हुन नसक्ने बताएका हुन्।
‘सदनमा त जानै पर्छ, नत्र निर्वाचन कसरी हुन्छ र ?,’ उनले भने, ‘मानौं प्रधानमन्त्रीले राजीनामा दिनुभयो, त्यसपछि प्रधानमन्त्री बन्ने वातावरण बन्छ कि बन्दैन भन्ने कुराको लागि त सदनमा जानुपर्छ होला नि होइन श्रीमान्।’
बहसका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नै नभएको बताएका छन्।
‘२०४७ को संविधानमा संसद्को अधिवेशन आह्वान, अन्त्य र विघटन गर्ने भन्ने उल्लेख भए पनि नेपालको संविधान २०७२ मा संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने मात्रै व्यवस्था गरेको छ,’ उनले भने, ‘७६ (१) को प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ भन्नु संविधान बाहिरको कुरो हो।’
प्रधानमन्त्रीले विघटन गर्न पाउने अधिकार संसदीय प्रणाली भनेर लिखित जवाफमा लेखे पनि त्यस्तो अधिकार नै नभएको उनको भनाइ छ।
‘विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छँदै छैन, उहाँले सिफारिस पनि गर्न पाउनुहुन्न,’ उनी भन्छन्, ‘राष्ट्रपतिलाई अधिकार भए पनि त्यसको पनि अवस्था हुन्छ।’
पढ्नुहाेस्
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै शम्भु थापाले सायरी सुनाएपछि...