जनकपुरधाम– पिछडावर्ग ओबीसी महासभाले नागरिकता समस्या चाँडै समाधान नगरिए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
ओबीसी महासभाले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी पटक पटक नागरिकता समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण गराए पनि गम्भिरता नदेखाएकाले अन्तिम विकल्प शान्तिपूर्ण आन्दोलन नै रहेको जनाएको छ।
महासभाका अध्यक्ष रामकुमार महतोले जन्मसिद्ध नागरिक देशलाई कर बुझाउन सक्ने, मतसमेत दिन पाउने तर जन्मसिद्ध नागरिकता भएका व्यक्तिको सन्तान नागरिकता पाउनुबाट बञ्चित हुनु विडम्बनाको विषय रहेको बताए। उनले संविधानमा समेत जन्मसिद्ध नागरिकता भएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने उल्लेख रहे पनि नियोजित हिसाबले नागरिकताबाट बञ्चित राखिएको उनले आरोप लगाए।
नागरिकता समस्या समाधान गर्नका लागि महासभाले ९ सदस्यीय संघर्ष समितिसमेत गठन गरेको उनले जानकारी दिए।
महतोले नागरिकता समस्याका साथै पिछडावर्गमा सूचीकृत ३५ जातजातिको हकअधिकार संरक्षणका लागि समेत महासभाले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
यसअघि महासभाको जनकपुरधाममा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा रामकुमार महतासहित ४५ सदस्यीय केन्द्रीय पदाधिकारी चयन गरेको छ । चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरेको छ।
महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायत एजेण्डा तय गरेको छ । महाधिवेशनले हिजोको कामको समीक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ।
महाधिवेशनमा २१ जिल्लाका २५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता थियो भने पर्येवक्षक तथा आमन्त्रित गरी ५ सयभन्दा बढी सहभागी थिए।