शनिबार, भदौ २०, २०८३

टल्कनै छाडे हिमाल  

मध्यहिउँदमा समेत हिउँ नपर्दा यो वर्ष रुकुमपूर्वका हिमालको सौन्दर्य झल्किन पाएको छैन। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

सिर्जना कार्की, रासस 

रुकुमपूर्व– मध्यहिउँदमा समेत हिउँ नपर्दा यो वर्ष रुकुमपूर्वका हिमालको सौन्दर्य झल्किन पाएको छैन। 

केही वर्ष पहिलेसम्म बाह्रै महिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि हिमाल टल्कन छोडेका हुन्। 

केही वर्षअघिसम्म कात्तिकको अन्तिम र पुस महिनाको सुरुआतबाटै हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन। 

रुकुमपूर्वको तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन्। हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिएका छन्। 

हिउँ नभएपछि हिमालको प्राकृतिक सुन्दरता नै हराएको रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका हिमाल आरोही मनबहादुर खत्री बताउँछन्। हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उनको भनाइ छ। 

दर्जन हिमालको आरोहण गरिसकेका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताए। उनले भने, ‘चार/पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमालमा अहिले चट्टान मात्र देखिन्छ।’ 

बन्दै ट्रेकिङ रुट

रुकुमपूर्वमा ५८४० मिटरदेखि ७२४६ मिटर उचाइ भएका पाँच वटा हिमाल छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको वेबसाइटमा राखिएको जानकारीअनुसार रुकुमको सबैभन्दा अग्लो हिमाल पुथाको उचाइ ७२४६ मिटर छ। 

यस्तै दोगारी हिमालको उचाइ ६५३६ मिटर, सामजाङ्ग हिमाल ५९२४, सिस्ने हिमालको उचाइ ५९११ मिटर छ भने निम्कु हिमालको उचाइ ५८४० मिटर छ।

खत्रीले सिस्ने हिमालको पछाडिपट्टिको भागबाट काञ्जिरोवा हिमश्रृंखलाका २८ हिमाल देख्न सकिने बताएका छन्। त्यस्तै सानीभेरी, ठूलीभेरी दुवैको मनोरम दृश्य देख्न सकिन्छ।

पर्यटनको विकासका लागि सिस्ने र पुथा तथा आसपासका हिमालमा जाने रुट पनि तयार गरिंदै छ। पुथा हिमाल जाने रुट छ वर्षअघि तयार भइसकेको छ भने सिस्ने हिमाल जानको लागि भने भर्खरै मात्र तीनवटा रुट पत्ता लगाइएको छ। 

रुकुमपूर्व र रुकुमपश्चिमको तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को तयारी गरिएको छ। 

रुट पत्ता लगाउने टोलीको नेतृत्व सिस्ने हिमालको आरोहण गरेका खत्रीले नै गरेका छन्। उनको टोलीलाई रुकुमपूर्वको सिस्ने गाउँपालिकासहित रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाले सहयोग गरेका छन्। 

गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो। खत्रीका अनुसार प्रारम्भिक चरणमा १४ दिनको ट्रेकिङ रुट बन्ने देखिएको छ। 

रुटअनुसार राडी आठबीसकोट–बञ्चरेबाट शुरु भएको सिस्ने राउण्डको ट्रेकिङ यात्रा बञ्चरे–जलजला, जलजला–डम्माना, डम्माना–कोल्टी, कोल्टी–खाल्टी, खाल्टी–गुप्तदह, गुप्तदह–निगालटाटा, निगालटाटा–सिस्ने बेस क्याम्प पुग्ने छ। 

त्यस्तै सिस्ने बेस क्याम्प–सिस्ने हाइ क्याम्प, सिस्ने हाइक्याम्प–नौ दह (सानो कैलाश), नौ दह (सानो कैलाश)–देउतीपाटन, देउतीपाटन–खोलापाटन, खोलापाटन–होलीकाँडा, होलीलीकाँडा–गोतामकोट–राडी आठबीसकोट पुगेर टुङ्गिने छ ।

ट्रेकिङको रुट निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। टोलीले ठाउँठाउँमा होमस्टे सञ्चालन गर्नुपर्नेदेखि डोल्पा जोड्ने सडक निर्माण गर्ने र एकीकृत पर्यटन प्याकेज ल्याएर काम गर्नुपर्ने सुझाव पनि दिएको छ। 
 

प्रकाशित: Jan 25, 2021| 10:51 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।