दाङ– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले केही कुलंगार र भष्मासुरले नेकपा छाड्दैमा आन्दोलन कमजोर नहुने बताएका छन्।
दाङमा सोमबार आयोजित सभामा सम्बोधन गर्दै उनले कहेी मानिसले पार्टी छाडेर जाँदैमा केही फरक नपर्ने बताएका हुन्।
उनले भने, ‘पिलो निचोरिँदैमा वजन घट्दैन। यो पिलो त हामीले निचोरेका होइनौं। जनताको भलो नचाहने, देशलाई माया नगर्ने, कुलांगार र भष्मासुरुहरुले पार्टी छाड्दैमा आन्दोलन कमजोर हुने छैन।’
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले भ्रम छरिरहेकाले त्यसमा नअलमलिन कार्यकर्तालाई आग्रह गरे।
उनले भने, ‘तपाईंहरु भ्रममा नपर्नुस्। केही मानिसले पार्टी छाडेर चौतारीमा बसेर म अध्यक्ष हुँ हिँडिरहेका छन्। उनीहरुलाई हिजो निर्वाचन आयोगले देखाइदियो।’
उनले फर्केर आएमा पार्टीमा सबैको ठाउँ सुरक्षित रहेको बताए। उनले केपी ओलीलाई पार्टीबाट निकालियो भन्दा हाँस्न मन लागेन भन्दै जिज्ञासा राखे।
ओलीले भने, ‘उनीहरुले सक्ने हो यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन्। तर ती मानिसले भनेर केही हुँदैन।’ उनले केही मानिसले भ्रमपूर्ण रुपमा पार्टी टुक्र्याउन खोजेको आरोप लगाए। उनले भने, ‘पार्टी एकजुट छ। केही मानिस निस्किएर गएका हुन्।’
उनले बाघजस्तो झम्टने भनेर पुष्पकमल दाहालले फेरि नेपाली जनतालाई हिंसामा लाग्न उत्प्रेरित गरिरहेको बताए।
यस्तै माधवकुमार नेपालप्रति लक्षित गर्दै आफूले अरूजस्तो दुई ठाउँ हारेर प्रधानमन्त्री हुने र अध्यक्ष हारेपछि मलाई नै अध्यक्ष चाहिन्छ भनेर केटाकेटीजस्तो क्याउँ क्याउँ नगरेको बताए।
प्रधानमन्त्री ओलीले सरकार गरिबी लखेट्ने अभियानमा रहेको बताए।
उनले भने, ‘अनेक तत्त्वले स्याल हुइँया मच्चाए पनि नेपाली जनता सरकारप्रति विश्वस्त र विकास निर्माणमा अघि बढिरहेको छ।’
उनले मुलुकका विभिन्न भागमा भइरहेका विकास निर्माणका बारेमा फेहरिस्त सुनाए।
ओलीले अब कोही पनि भोकै नपर्ने पनि बताए। उनले भने, हाम्रो अभियानको चुरो छ, समृद्ध नेपाल र सुखी नेपाली।’
उनले सबैलाई अधिकार सम्पन्न, सामाजिक न्याय र समानता प्रदान गरिने बताए। उनले भने, कोही पनि पछाडि पर्न नपरोस् भनेर हामीले विशेष कार्यक्रम बनाइरहेका छौं।’
देशलाई विकास, सुशासन र समृद्धिको मार्गमा लगाई जनताको जीवनमा परिवर्तन ल्याउन लागिपरेको पनि बताए।
ओलीले नेपालमै रोजगारीका अवसर सिर्जना हुन नदिने षड्यन्त्र भइरहेको बताए। उनले भने, ‘केही वर्षभित्रै रोजगारीका लागि विदेश जाने अवस्थाको अन्त्य गर्न लागेका छौं।’
यसका लागि सीप विकासका लागि विभिन्न तालिम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइने उनको भनाइ छ।
उनले संविधानसम्मत ढंगले संसद् विघटन गरी नयाँ जनादेशका लागि जनतामा जान लागिएको दाबी गरे। उनले कार्यकर्तालाई निर्वाचनको प्रचारप्रसारमा लाग्न पनि आग्रह गरे।
तोकिएकै समयमा निर्वाचन हुने उनको भनाइ छ। उनले सुरक्षाकर्मी र प्रशासनलाई पनि निष्पक्ष निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।