काठमाडौं– नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिएको विषयलाई प्रधानमन्त्री एवम् केपी ओली समूहको नेकपाले सकारात्मक रुपमा लिएको छ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने, आयोगको निर्णयलाई हामी सम्मान गर्छौं। यसलाई सकारात्मक ढंगले लिएका छौं।’
आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको थियो।
दुवै पक्षको दाबी प्रचलित कानुनअनुसार नदेखिएकाले पूर्ववत् अवस्थामा रहेको आयोगको निर्णय छ।
नेता पोखरेलले आयोगको यस्तो निर्णयले ओलीले नेतृत्वको नेकपाको अडानलाई थप बल पुगेको दाबी गरे। उनले भने, ‘हामी फुटका पक्षमा छैनौं। हामीले कसैलाई निष्कासन गरेका पनि छैनौं। चाहेर पनि नेकपा फुट्न सक्दैन भन्ने आयोगले पुष्टि गरेको छ।’
उनले दाहाल–नेपाल समूहका गतिविधिलाई आयोगले सम्बोधन नगरेको दाबी गरे। उनले भने, ‘आयोगले निर्णयलाई सकारात्मक रुपमा लिएका छौं।’
नेता पोखरेलले आफ्नो समूहका १५०१ सदस्यको हैसियत राजनीतिक कुरा भएकाले त्यसलाई यथोचित रुपमा सम्बोधन गर्ने बताए।
उनले हाल जारी सभा र भेला कसैप्रति लक्षित नरहेको बताए। उनले भने, ‘भेला र सभा राजनीतिक स्थायित्वका पक्षमा र अराजकता सिर्जनाका विपक्षमा हो। राष्ट्रिय स्वाभिमानमा कुनै आँच नपुगोस् भन्नका लागि हो। समृद्धिका पक्षमा हो।’
पोखरेलले कात्तिक २८ पुष्पकमकल दाहालले लगाएको अभियोग फिर्ता लिएमा र घोषित भएको निर्वाचनमा सहभागी हुन तयार रहेमा दाहाल–नेपाल पक्षसँग सहकार्य हुन सक्ने बताए।