काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टाँसिरहन संकटकाल लाउन सक्ने बताएका छन्।
प्रदेश २ का नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ओलीले चुनाव नै नगर्ने बताएका हुन्।
‘केपी ओली बोल्छन् एउटा, गर्छन् अर्को। आजसम्म उनले झुट मात्रै बोलेका छन्,’ उनले भने, ‘सत्तामै टाँसिनका लागि संकटकाल पनि लाउन सक्छन्।’
यस्तै उनले पदको लडाइँ भनेर जुन प्रचार गरिएको छ, त्यो सबै झुटो भएको बताए। ‘अहिलेको लडाइँ भनेको संविधान जोगाउने कि नजोगाउने भन्ने पुगिसकेको छ,’ उनी भन्छन्, ‘यो गलत विचारविरुद्धको लडाइँ हो।’
अध्यक्ष नेपालले ओली अनुसाशनमा बस्न नचाहने र गुटमा रमाउने मानिस भएको आरोप लगाएका छन्।
‘केपी ओलीको धुलो छाप पार्टी हो, कोही पनि नजानुहोला,’ उनले भने, ‘उनीभन्दा बेइमान मानिस यो धर्तीमा अरू कोही छैन।’
सडक तताएरै केपी ओलीलाई निकाल्ने उनको भनाइ छ। ‘आन्दोलनबाट नै केपी ओलीलाई सबक सिकाउने हो,’ उनले भने, ‘अब हाम्रो आन्दोलनले आँधीबेहरी ल्याउने छ, अब कसैले रोक्न सक्दैन।’