शनिबार, भदौ २०, २०८३

दाहाल भन्छन्– अब टाउकोमै हान्नुपर्ने स्थिति आयो

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध काठमाडौंमा अझ ठूलो जनप्रदर्शन र सभा हुने बताएका छन्।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध काठमाडौंमा अझ ठूलो जनप्रदर्शन र सभा हुने बताएका छन्। उनले भने, ‘टाउकोमै हान्नुपर्ने स्थिति आयो। अन्त हानेर त्यति धेरै चोट नपुग्ने भयो।’

उनले प्रदेश २ नेताकार्यकर्तालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै संघर्ष समितिले यसबारे छिट्टै कार्यक्रम सार्वजनिक गर्ने बताए। यस्तै मिति पनि संघर्ष समितिले नै तय गर्ने उनको भनाइ छ।

दाहालले भने, ‘९ गते आयोजना गरिएको प्रदर्शनको तरंग गएको छ। अब अर्को कार्यक्रम भव्य, विशाल र सिंगो राष्ट्र झल्कने गरी हुनेछ।’  
उनले  प्रदेश २ का कार्यकर्तालाई अब २५ हजार नागरिक काठमाडौंमा ल्याउन आग्रह गरे। दाहालले त्यो निर्णायक संघर्ष हुने भएकाले त्यसले छिनोफानो गर्ने बताए।

दाहालले भने, मैले देशभित्रको मात्र होइन, देशबाहिरको प्रतिक्रिया सुन्दा ९ गतेको सभाले ठूलो तरंग ल्याएको छ। गडबड गर्नु हुँदैन, जनताले छोड्दैनन् भन्ने सन्देश गएको छ।’

दाहालले कम्युनिस्ट पार्टीभित्रका सामन्ती एजेन्टले बरबाद गरेको भन्दै अब प्रतिगमनलाई जसरी पनि परास्त गर्नैपर्नेमा जोड दिए। उनले भने, ‘संविधान लोकतन्त्र भत्काउने काम भएको छ। त्यसैले हामीले फेरि नयाँ उचाइमा पुगेर अघि बढ्नुपर्नेछ।’

दाहालले अब सडक आन्दोलनबाट नै तानाशाही हटाइने चेतावी दिए। उनले भने, ‘जिल्लामा पनि आन्दोलन गर्दै छौं। तर अब काठमाडौंमै फेरि एकपटक शक्ति प्रदर्शन गर्ने हो।’

उनले निरंकुश तानाशाही केपी ओलीलाई देखाउन पनि विरोध प्रदर्शन सशक्त बनाइने बताए। दाहालले भने, ‘ओलीले ९ गतेको हाम्रो कार्यक्रमलाई सानो भनेर टिप्पणी गरे। अब आफूले देखाउँछु भनेका छन्। तर उनको जुलु र सभा पञ्चहरुले गर्ने जस्तो हुनेछ। तिनको प्रदर्शनको कुनै अर्थ नै रहँदैन।’

उनले आफूहरुले गर्ने आन्दोलन भने जनताको आन्दोलन हुने बताए। दाहालले भने, ‘ हाम्रो जत्रो आन्दोलन भए पनि यो जनताको हुनेछ। ओली त कलंक भइसके। उनले जे गरे पनि त्यो कलंककै टीका हुनेछ।’ उनले कार्यकर्तालाई एकपटक फेरि जाग्न आग्रह गरे। 

९ गते काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा १० हजार कार्यकर्ता ल्याउन निर्देशन दिएकोमा साढे १३ हजार कार्यकर्ता ल्याएको भन्दै दाहालले प्रदेश २ कार्यकर्ताको प्रशंसा गरे। 

उनले आइतबारको स्थायी कमिटी बैठकले पनि यसका लागि धन्यवाद दिएको जानकारी गराए। यसैगरी उक्त सभामा मधेस झल्किने प्रतिनिधि र सम्बोधन नदेखिएको उनले कमजोरी स्वीकार गरेका छन्। 

दाहालले भने, ‘हामीबाट कमजोरी भएकै हो। स्थायी कमिटी बैठकले अब यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता सभासम्मेलन समावेशी होस् भन्नेमा गम्भीर रहँदै आइन्दा त्यस्तो नहुने संकल्प गरेका छौं।’

उनले विगतमा केपी ओली र आफ्नो अध्यक्ष पद समान रहेको बताए। उनले भने, ‘एउटा एक नम्बर र अर्को दोस्रो नम्बर भन्ने थिएन। पालैपालो अध्यक्षता गर्ने भन्ने थियो। जसले अध्यक्षता गर्ने हो ऊ एक नम्बरमा र अर्को दुई नम्बरमा भन्ने थियो।’

उनले ओली र आफूबीच सरकार सञ्चालनमा पनि यसैगरी पालैपालो गर्ने सहमति भएको बताए। दाहालले भने, ‘ओलीले सुरुदेखि नै यसलाई अतिक्रमण गर्दै पार्टीको अनुशसान उल्लंघन गरे।’

तर अहिले माधवकुमार नेपाल र आफूबीच एक दिन एउटाले अर्कोले दिन अर्कोले पार्टीको बैठक सञ्चालन गर्दै आएको जानकारी दिए। दुवै अध्यक्ष समान हैसियतमा रहेको दाहालको भनाइ छ।

दाहालले नेपालको सामन्तवादी विरुद्धको आन्दोलनमा मधेसको विशिष्ट योगदान रहेको बताए।

प्रकाशित: Jan 25, 2021| 05:36 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।