पोखरा - भारत सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको खोपमध्ये गण्डकी प्रदेशको भागमा ४० हजार डोज परेको छ।
आइतबार पोखरा ल्याई पुर्याइएको उक्त खोप आज सोमबारबाट जिल्ला तहमा पठाइने भएको छ।
आइतबार ल्याइएको ‘कोभिशिल्ड’ भ्याक्सिन प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको कोल्ड स्टोरमा भण्डारण गरिएको छ।
४० हजार डोज खोप ल्याइएकोमा १७ हजार जना हाराहारीलाई लगाइने प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले तयार गरेको विवरणअनुसार १७ हजार ३९६ जना ‘फ्रन्ट लाइनर’लाई खोप दिइने छ।
सोमबार प्रदेशका ११ वटै जिल्लामा खोप पठाइने आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीका निर्देशक खीम खड्काले जानकारी दिए। ‘प्रदेशका सबै जिल्लामा अहिले पनि बालबालिकाहरूको खोप कार्यक्रम छ। त्यसैले गर्दा सप्लाई र भण्डारणमा कुनै समस्या देखिएको छैन,’ उनले भने।
पहिलो चरणमा निर्देशिकाअनुसार नै स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत कोभिड नियन्त्रणको अग्रभागमा रहेर काम गर्नेहरूलाई खोप लगाइने छ।
सोमबार सबै जिल्लाको खोप केन्द्रमा पुगेपछि १४ गतेबाटै प्रत्येक जिल्लाका कम्तीमा एउटा अस्पतालबाट खोप लगाउन सुरु हुने खड्काले जानकारी दिए।
खोप कार्यक्रम एक सातासम्म चल्छ। मनाङ र मुस्ताङ टाढा भएकाले ढुवानीमा केही समस्या पर्ने देखिएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराका तीनवटा अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ।
पश्चिमाञ्चल अस्पताल, मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालबाट खोप लगाइने छ।
अन्य जिल्लामा जिल्ला अस्पतालबाट खोप दिइने छ। प्रदेशमा खोप दिनका लागि पूर्व तयारी पनि थालिएको छ।
१० जना प्रशिक्षकले तालिम लिइसकेका छन्। उनीहरूले जुममार्फत् जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यक्रम छ। खोप चिकित्सकको निगरानीमा लगाइने शर्माको भनाइ छ।
‘एकपटक दिएपछि ठिक एक महिनापछि अर्को डोज दिनुपर्छ। सामान्य खोपजस्तो होइन। चिकित्सकको निगरानीमा भ्याक्सिन दिनुपर्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी पहिलो कित्तामा हुनुहुन्छ। त्यसपछि सर्वसाधारणमा जाने हो। एक दिनमा १२५ जनाभन्दा बढीलाई खोप लगाइँदैन।’
खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ।
यो खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले लगाउनु हुँदैन।