जनकपुरधाम– धनुषाको धनुषाधाममा प्रत्येक वर्ष माघ महिनामा लाग्ने मकर मेलाको रौनक अहिले देखिएको छ। यो मकर मेला यस क्षेत्रको प्रख्यात मेलामध्येको एक हो। मकर संक्रान्ति अर्थात् माघ १ गतेबाट सुुरु हुने मकर मेला माघ महिनाको प्रत्येक आइतबार लाग्ने गर्छ।
मिथिला महात्म्यमा पाँच मकर स्नान गरेर धनुषाको दर्शन गरेपछि एक सय पटक रामेश्वरको दर्शन गरेसरहको फल प्राप्त हुने उल्लेख छ। परम्परागत हिसाबले वर्षभरि गरिएको आकलभाकल माघ महिनाभरि अर्पण गर्नेहरुको समेत धनुषा मन्दिरमा भीड लाग्ने गर्छ। मेला पुग्ने श्रद्धालुहरुले त्यहाँ स्नान गरेर धनुषा मन्दिरमा रहेको धनुषको अवशेषमा पुष्प तथा जल अर्पण गर्नुका साथै भन्टा समेत अर्पण गर्ने गर्छन्। भन्टा अर्पण गर्नाले चर्म रोग निको हुने जनविश्वास छ।
माघ महिनाको प्रत्येक आइतबार हजारौँ श्रद्धालु भक्तजन धनुषको दर्शनका लागि पुग्ने गरेको महन्थ भरत दास बताउँछन्। मेलालाई ध्यानमा राखेर प्रत्येक आइतबार धनुषाधाम नगरपालिकाको कार्यालय रहेको वडा नम्बर ३ र ४ मा विदा दिने गरेको नगरप्रमुख बालेश्वर मण्डलले बताए। यसका साथै मन्दिरकै छेउमा रहेको धनुष जनता प्राविधिक विद्यालयको प्रांगणमा मेलाको बजार लाग्ने भएकोले विद्यालयमा समेत माघ महिनाभरि प्रत्येक आइतबार विदा दिने गरिएको छ।
जनकपुरधामबाट १९ किलोमिटर उत्तरपूर्वमा पर्ने धनुषाको धनुषाधाममा लाग्ने मकर मेला पर्यटनको हिसाबले महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन्। तीनै तहका सरकारले मेलालाई व्यवस्थित बनाउन तथा प्रचारप्रसारका लागि कुनै ध्यान नदिएको स्थानीय देवनारायण मण्डलले गुनासो गरे। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र स्थानीयको आर्थिक स्तर उकास्न मेलाले मद्दत गर्ने उनको भनाइ छ।
नगर प्रमुख मण्डल भने नगरपालिकाले मेलालाई व्यवस्थित तुल्याउन प्रयास गरेको बताउँछन्। उनका अनुसार मेला व्यवस्थित बनाउन पार्किङका साथै मन्दिरभित्र भिडभाड हुन नदिन नगर प्रहरी खटाइएको छ।
इलाका प्रहरी कार्यालय धनुषाधामले भीडभाड नियन्त्रण तथा मेलामा शान्तिसुरक्षा कायम राख्नका लागि २५ जना प्रहरी खटाएको इन्सपेक्टर सुरेश ठाकुरले बताए।
यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मिथिला मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्ने गर्छ। मेलामा धनुषाधाममा करोडौंको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नम्बर २ का श्रीनारायण साहले बताए।
त्रेता युगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए। भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यञ्चा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल हो धनुषाधाम।
प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामबाट १९ किलोमिटरको दुरीमा रहेको धनुषाधाममा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण स्थल हो। सोही स्थलका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ। धनुष मन्दिरमा दैनिक सयौंको संख्यामा पर्यटक पुग्ने गर्छ।
त्रेता युगको इतिहास बोकेको सो स्थलको दर्शनका लागि नेपालका साथै भारतका पनि विभिन्न स्थानबाट दर्शनार्थी पुग्ने गर्छन्। पहिले खुला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडिमात्रै मन्दिरको स्वरुप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासले बताए। स्थानीय केही व्यक्तिहरुको व्यक्तिगत सहयोगबाट मन्दिर निर्माण गरिएको थियो।
धनुष झरेको स्थलमा कालो सिमेन्टझैं ढुंगा झरेको देखिन्छ। धनुषको सो टुक्रा दिनदिनै बढ्दै गइरहेको र सुरुमा सानै आकार रहेको सो टुक्रा अहिले सय मिटरसम्म फैलिसकेको छ। टुक्रा किन फैलिरहेको छ भन्ने अहिलेसम्म रहस्यमय नै छ। कालो ढुंगाजस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टि अहिलेसम्म वैज्ञानिकहरुले गर्न सकेका छैनन्। त्यो टुक्रा न ढुंगा, न काठ वा न त कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो।
धनुषाधाममा झरेको कालो शिलामाथि अहिले विशाल पिपलको बोट छ। सो पिपलको बोट ५ सय वर्षभन्दा बढी पुरानो रहेको स्थानीय बताउँछन्। सो पिपलको बोट मुनी नागको वास छ भन्ने किम्बदन्ती रहेको महन्थ दासले बताए। उनका अनुसार औंसीको राति धनुष मन्दिर हरियो रंगले चम्किरहेको हुन्छ। पिपलको बोटमुनि बास गरिरहेको नाग मणिसहित औंसीको राति बाहिर आउने गरेकोले मन्दिर चम्किने गरेको महन्थ भरत दासले बताए।
मन्दिरभित्रै रहेको पिपलको बोटकै छेउमा सानो कुण्ड रहेको छ। सानै आकारको सो कुण्डको नाम पाताल गंगा छ। पाताल गंगाले प्रकृति र यो वर्ष कस्तो रहने भन्ने संकेत गर्छ। पानी धरती सतह भन्दा माथि हुन्छ भने वर्षभरि शुभ रहने र धरती सतहभन्दा पानी तल हुँदा अनिष्टको संकेत गर्ने महन्थ भरत दासले बताए। यस वर्ष पानीको सतह तल रहेकोले अनिष्टको संकेत गरिरहेको उनको भनाइ छ।
हजारौं वर्षको इतिहास बोकेको सो मन्दिरको सौन्दर्यीकरण तथा संरक्षणका लागि कुनै स्तरबाट पहल नभएको देखिन्छ। महन्थ दासले देश संघीयतामा गए पनि स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकारले यस मन्दिरप्रति उदासिन रहेको आरोप लगाए।
धनुष मन्दिरको छेउमै मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुका लागि धर्मशाला निर्माण गरिएको थियो। ३४ कोठे उक्त धर्मशाला पनि भारतको विहार पटनाका ताराचन्दले निर्माण गराउन लगाएका थिए। ताराचन्द धनुष मन्दिरको दर्शनका लागि आएका बेला वास बस्न समस्या भएपछि यो धर्मशालाको निर्माण गराउन लगाएको स्थानीय देवनारायण मण्डलको भनाइ छ।
तर स्थानीय सरकार आएलगत्तै त्यो धर्मशाला पनि अब छैन। धनुषाधाम नगरपालिकाले सो धर्मशालालाई कार्यालयको रुपमा प्रयोग गर्न थालेपछि मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरु वास बस्ने उद्देश्यले निर्माण गरिएको धर्मशाला अब धनुषाधाम नगरपालिकाको कार्यालयको रुपमा परिणत भएको छ।