काठमाडौं – इटालियन शीर्ष फुटबल लिग सिरी ए मा साविक विजेता युभेन्टस्ले बोलोग्नालाई हराएको छ।
युभेन्टस्को ओल्ड लेडी मैदानमा सम्पन्न खेलमा बोलोग्नाले २–० गोलको हार बेहोरेको हो।
युभेन्टस्को जितका लागि आर्थुर मेलो र वेस्टम म्याक्केनिन्ले समान १/१ गोल गरे।
क्रिस्टियानो रोनाल्डोले दिएको पासलाई उपयोग गर्दै मेलोले खेलको १५ औं मिनेटमा गोल गरे। उनको गोलबाट युभेन्टस्ले पहिलो हाफमै अग्रता बनाएको थियो।
दोस्रो हाफको ७१ औं मिनेटमा कुवार्डोले दिएको पासलाई उपयोग गर्दै म्याक्केनिनले गोल गरे। उनको गोलपछि अग्रतालाई दोहोरो बनाएको युभेन्टस्ले सोही नतिजाका साथ खेल जित्यो।
जितसँगै ३६ अंक बनाएको युभेन्टस् अंकतालिकाको चौथो स्थानमा छ। ऊ शीर्षस्थानको एसी मिलानभन्दा सात अंक पछि छ।
यता पराजित बोलोग्ना २० अंकका साथ १३ औं स्थानमा छ।
सिरी ए अन्तर्गत अन्य खेलमा, नापोली भेरोनासँग ३–१ गोलले पराजित भएको छ भने लाजियोले घरेलु मैदानमा ससुअलोलाई २–१ गोलले हराएको छ।