पोखरा– गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङको ८४ औं जन्मजयन्तीको अवसरमा आइतबार सालिक अनावरण गरिएको छ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले निर्माण गरेको उक्त सालिक गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनावरण गरेका हुन्।
सालिक अनावरण गर्दै मन्त्री गुरुङले हर्कबहादुर गुरुङले गुरुङ भाषा, साहित्य र सांस्कृतिक चेतना निर्माणका क्रममा महत्वपूर्ण योगदान पु¥याएकाले उनको योगदान जीवन्त रहने बताए।
स्याङ्जाको फेदीखोला साल्मेमा वि.सं. १९९३ सालमा जन्मिएका हर्कबहादुर गुरुङको २०६७ सालमा निधन भएको थियो।
उनको वि.सं. २०१६ सालमा ‘गुरुङ लोकगीत’ नामक पुस्तक प्रकाशन भएको छ। जसमा गुरुङ भाषाका ३ दर्जन गीत समावेश छन्।
उनले चर्चित गीत ‘क्युदे थुलेन दुख म्हन’ २०११ सालमा रचना गरेका थिए। यसले गुरुङ जातिमा मामाचेली फुपूचेला विवाहको बाध्यकारी व्यवस्थाले सिर्जित समस्यालाई गीतले उजागर गरेको छ।
उनको गीत संग्रह ‘क्युदे थुलेन’ प्रकाशित छ। २०१७ सालमा रेडियो नेपालमा सुनिमाया, ठाडोभाका र यानीमाया रेकर्ड गराएका आदिकवि गुरुङले तमु भाषामा जागरण र चेतनाका गीत बस्तीबस्तीमा गाउँदै हिँडेका थिए।
उनलाई २०५८ सालमा तमु सांस्कृतिक प्रतिष्ठानले गुरुङ अदिकविको सम्मान दिएको थियो।
फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माणका क्रममा समेत गुरुङको जीवनीलाई समावेश गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले हर्कबहादुर गुरुङ भाषाका मात्र नभएर समग्र जाति र भाषाका कवि तथा संस्कृतिकर्मी भएकाले उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताए।