काठमाडौं- साउदी अरेबियास्थित नेपाली दूतावासले त्यहाँको दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ।
दूतावास रहेको सहर (रियाद) भन्दा टाढा रहने सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण सेवा प्रदान गर्ने उद्देश्यले
राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्न लागिएको दूतावासले जनाएको छ।
आगामी ५ फेब्रुअरी २०२१ मा दमाममा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ।
दूतावासले जारी गरेको सूचनामा दमाम, जुवेल, अलहासा, रास्तानुरा, खोबर, कतिफ एवम् सो क्षेत्रको वरपरका स्थानमा रहेका नेपालीले राहदानीका लागि यथाशीघ्र अनलाइन आवेदन गर्नु अनुरोध गरिएको छ।
राहदानीको म्याद ६ महिनाभन्दा कम रहेकाले मात्र आवेदन गर्न पाउनेछन्।
५ फेब्रुअरी २०२१ पछि केही समयका लागि अस्थायी कार्यालय सञ्चालन गरी राहदानी आवेदन संकलन गर्ने कार्य स्थगित गरिने भएकाले सोही मितिमा अनलाइन आवेदन गर्न दूतावासले अनुरोध गरेको छ।
