धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसविरुद्धको खोपका लागि १० वटा केन्द्र तय गरिएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नगरेन्द्रसिंह कार्कीले प्रदेशमा पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म खोप लगाउने बताए।
प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई प्राथमिकतामा राखेर खोप अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको प्रवक्ता नरेन्द्रसिंह काकीले बताए।
पहिलो चरणमा खोप लगाउन १६ हजार २९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ कार्कीले भने, ‘खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भए पनि स्वच्छिकबाहेक कसैलाई पनि बाध्यकारी हुनेछैन।’
प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र तय गरेको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ। प्रदेशका अन्य जिल्लाको हकमा जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको कार्कीले बताए।
संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यानमार्फत आइतबार १६ हजार २९३ जनालाई लगाउन मिल्नेगरी कोरोना भाइरसविरुद्धको खोप पठाएको छ। उनले भने, ‘सोमबार वा मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्छ।’
प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको जनाएको छ।
प्रथम चरणमा खोपका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ७० सुरक्षाकर्मीको तंथ्यांक संकलन गरेको जनाएको थियो।