विराटनगर- नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि पुर्नस्थापनाको विकल्प नै नरहेको बताएका छन्। उनले प्रतिनिधिसभा पुनर्स्थापनाको एक सुत्रीय माग राखेर पार्टी जनता समक्ष गएको बताए।
गुराँस पुस्तकालय विराटनगरले प्रकाशित गरेको ‘बरगाछी’को १६ अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषाङ्कको आइतबार लोकार्पण गर्दै उनले पुनर्स्थापनाको माग राखेर सडक आन्दोलन गरिएको बताए।
उनले भने, ‘जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिनका लागि पार्टीले सडक संघर्ष गर्दै आएको हो।’ पार्टीको आन्तरिक रिस प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा देखाउन नमिल्ने पौडेलले बताए।
वरिष्ठ नेता पौडेलले पार्टी स्वतन्त्र समाज, समावेशिता र महिला अधिकारमा अग्रणी रहेको भन्दै चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, डा. डिला सङ्ग्रौला र गुरु घिमिरेले संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने बताए।
सोही अवसरमा वरिष्ठ नेता पौडेलले प्रजातन्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाई सम्मान र कोरोना महामारीले मृत्यु भएकाहरुको शव अन्त्यष्टिमा सहयोग पुर्याउने र संक्रमितहरुको घर घरमा निर्मलीकरण गर्ने बरगाछी यूवा समूहलाई १५ हजार राशीको सामाजिक पुरस्कारबाट सम्मानित गरे।