काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनाजन्य अभिव्यक्ति दिएको भन्दै संवैधानिक कानुन व्यवसायी मञ्चले विरोध जनाएको छ।
मञ्चले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीले निवेदकका तर्फबाट बहस गरेकै कारण वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल’ र उहाँले संवैधानिक इजलाससमक्ष गरेको बहसलाई तमासा’ को संज्ञा दिने एवं कानुन व्यवसायीको हैसियतमा स्वतन्त्रतापूर्वक पक्षको प्रतिनिधित्व गरेको तथ्यलाई उपेक्षा गर्दै तमासा’ देखाउर्न लगेको’ भनेर लाञ्छित गर्ने गरी अभिव्यक्ति दिनु खेदजनक छ।’
मञ्चले अड्डाअदालतमा मुद्दाका पक्ष वा विपक्षको प्रतिनिधित्व गरेर बहसपैरवी गर्ने कुरा कुनै पनि कानुन व्यवसायीको संविधान र कानुनअन्तर्गत संरक्षित पेसागत स्वतन्त्रता रहेको स्पष्ट पारेको छ।
मञ्चका अध्यक्ष अधिवक्ता राजुप्रसाद चापागाईका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् विघटन जस्तो गम्भीर सार्वजनिक सरोकारको विषयमा अदालतको सहयोगार्थ पक्षविपक्षका तर्फबाट तथा एमिकस क्युरीका रुपमा बहस गरेको विषयलाई लिएर कसैलाई पनि लाञ्छित गर्ने र हतोत्साहित गर्ने कुनै पनि काम नगर्न मञ्च सार्वजनिक आह्वान गर्दछ।’
मञ्चले रचनात्मक बहस, छलफल, तर्कवितर्कबाट नै संवैधानिक विवादको यथोचित न्याय निरुपणमा सहयोग पुग्ने र न्यायिक निर्णयको पनि वैधता सुनिश्चित हुने ठहर गरेको छ।
विज्ञप्तिमा उल्लेख छ, ‘इजलासमा हुने छलफलका क्रममा न्यायमूर्ति र कानुन व्यवसायीबीच भएका कुनै पनि सवालजवाफका विषयलाई लिएर न्यायालयको स्वतन्त्रता र गरिमामाथि आँच आउने गरी अस्वस्थ टीकाटिप्पणी नगर्न पनि सम्बन्धित सबैमा मञ्च अपिल गर्दछ।’