काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको शुभारम्भ गर्ने जनाएका हुन्। बुधबार बिहान १० बजे भर्चुअल रुपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ।
माघ १४ गते सातै प्रदेशका ६२ अस्पतालमा १२० भन्दा बढी खोप केन्द्रबाट खोप शुभारम्भ गरिनेछ। साथै माघ १८ गतेभित्र सबै जिल्लाका ३०० वटा खोप केन्द्रमार्फत यो खोप प्रदान गरिने मन्त्री त्रिपाठीले जनाए।
सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने छ।
मन्त्रालयले आइतबारदेखि सातवटै प्रदेशमा खोप पठाउनसमेत सुरु गरेको छ। पहिलो चरणको खोप अभियान सुरु गरेको बढीमा १० दिनभित्र सम्पन्न गरिनेछ।
यो चरणमा ४ लाख ३० हजार जनालाई लगाउने लक्ष रहेको मन्त्रालयले जनाएको छ। प्रथम चरणको खोप अभियान सक्नुअघि नै अर्को चरणका लागि खोप आइपुग्ने मन्त्री त्रिपाठीले बताए।
भारत सरकारले नेपाललाई बिहीबार अनुदानस्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो।