काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार सधैं साथमा रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका संस्थाहरुले गरेको अन्तर्किया कार्यक्रममा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिलाई सरकारले छेउमा बसेर सुमसुम्याउने बताए।
अपांगता भएका तथा साहाराविहीन व्यक्तिलाई सरकारले अभिभावकको महसुस गराउने प्रधानमन्त्री ओलीले बताए।
साहित्यकार झमक घिमिरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले अपांगता भए पनि केही गर्न चाहनेका लागि सरकारले मनोबल बढाउन सहयोग गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हिजो सडकभरी बालबालिका हुने गर्थे, जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए। अहिले सडकमा खाते छैनन्। अहिले सरकार छ, कुनै नेपालीका छोराछोरीलाई खाते हुन दिइँदैन।’