काठमाडौं- नेकपाको दाहाल-नेपाल पक्षीय स्थायी कमिटीको औपचारिक बैठक आइतबार बस्ने भएको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको अनौपचारिक बैठकले आइतबार औपचारिक बैठक राख्ने निर्णय गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आज उपत्यकामा उपलब्ध नेताहरुको बीचमा सामान्य छलफल भएको बताए।
‘हिजोको जनप्रदर्शन सहितको कार्यक्रमको समीक्षा गरियो,’ उनले भने, ‘भोलि थप अजेण्डासहित औपचारिक बैठक नै बस्नेछ।’
उनका अनुसार आइतबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो।
आजको अनौपचारिक छलफलमा भाबी कार्यक्रमका बारेमा छलफल भएको थियो। तर, आइतबार बस्ने स्थायी कमिटी बैठकले भने महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ।
सांगठनिक कार्यविभाजन अन्तर्गत ओली पक्षमा रहेका पदाधिकारीलाई हटाएर नयाँलाई जिम्मेवारी तोक्ने निर्णय हुन सक्नेछ।
दाहाल-नेपाल पक्षले आइतबारको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासनको निर्णय गर्न सक्ने देखिएको छ।
पार्टी अध्यक्षबाट हटाइसके पनि केन्द्रीय सदस्यका रुपमा ओलीलाई राखेको थियो। केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।
ओलीलाई दाहाल-नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।