विराटनगर- सुनसरीको इटहरी उपमहानगरपालिकाले मुसहर समुदायका लागि चिटिक्क परेका घर निर्माण गरेको छ।
उपमहानगरले ९ वटा घर निर्माण सम्पन्न गरेको हो। वडा नम्वर १६ को टिहिटी टोलमा विपन्न मुसहर बस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको नगर प्रमुख द्घारिकलाल चौधरीले बताए।
‘तराई मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत ७७ लाख लगानीमा घरहरु निर्माण गरिएको उनले बताए। घर निर्माण गरिएको क्षेत्रमा सडक, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्री मन्दिर पनि निर्माण गरिएको छ।
उपमहानगरपालिका विपन्न समुदायका जनताको हितमा गम्भिर रहेको नगर प्रमुख चौधरीले बताए। जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको उनले बताए।
उपमहानगरले वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन्। उनका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना बस्ती निर्माण गर्ने योजना छ।