काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता लिभरपुल बर्नलीसँग पराजित भएको छ।
लिभरपुलको एफिल्ड मैदानमा बिहीबार राति सम्पन्न खेलमा पाहुना टिम बर्नलीले १–० गोलको साँघुरो जित निकालेको हो।
बर्नलीले एनफिल्ड मैदानमा सन् १९७४ पछि पहिलो पटक जित हात पारेको बीबीसीले जनाएको छ।
गएरातिको हारसँगै लिभरपुलको घरेलु मैदानमा ६८ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफको ८३ औं मिनेटमा बर्नलीका एस्ले बर्नेसले निर्णायक गोल गर्दै बर्नलीलाई जित दिलाए।
बर्नलीका बर्नेसको प्रहार रोक्ने क्रममा लिभरपुलका गोलकिपर एलिसनले उनीमाथि फल गर्दा पाहुना टिमले पेनाल्टीको अवसर पाएको थियो। सोही अवसरको सदुपयोग गर्दैै बर्नेसले गोल गरेका हुन्।
त्यसअघि मोहम्मद सलाह र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले प्रहार गरेको बललाई बर्नलीका किपर एन पोजेले उत्कृष्ट बचाउ गरेपछि लिभरपुल अग्रता बनाउनबाट चुकेको थियो।
र, यो हारसँगै शीर्षस्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछि पर्दै लिभरपुलले आधा सिजन पार गरेको छ।
लिभरपुलले जारी सिजनमा नौ जित, सात बराबरी र तीन हारका साथ ३४ अंक जोडेको छ।
यता, बर्नलीको अपत्यारिलो जितसँगै ऊ रेलिगेसन जोनभन्दा सात अंक माथि छ।