काठमाडौं– आज बिहीबार सम्पन्न खेलमा पराजित भएको गण्डकी प्रदेश जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटबाट बाहिएिको छ।
उसले अन्तिम खेलमा एपीएफसँग हार बेहोर्दै जारी प्रतियोगिताको यात्रामा पूर्णविराम लगाएको हो। प्रतियोगिता अवधिभर गण्डकीले समूह चरणका चार खेलमा एक जित निकाल्यो भने तीन खेलमा पराजय भोग्यो।
मूलपानी मैदानमा भर्खरै सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले गण्डकीविरुद्ध ६ विकेटको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीका सबै खलाडी चार ओभर बाँकी रहँदै १०६ रन बनाएर बाहिरिँदा एपीएफले १०७ रनको लक्ष्य पाएकोे थियो।
उसले उक्त लक्ष्य १७ ओभर तीन बलमा चार विकेट गुमाएर पूरा गरेको छ। एपीएफको जितका लागि आरिफ शेख र सुमित महर्जनले ७३ रनको साझेदारी गरे। जहाँ शेखले ७८ रन बनाए भने महर्जनले १८ रन जोडे।
ओपनिङमा आएका सुवास खकुरेलले भने रन बनाउन सकेनन्। यता गण्डकीका चन्द्र र विशाल पौडेलले समान २–२ विकेट लिए।
गण्डकीको ब्याटिङका क्रममा ओपनर समिर कँडेलले ३६ रन बनाए भने विष्णु पाण्डे र दिपेश खत्रीले समान १५–१५ रन जोडे। गण्डकीलाई अतिरिक्त १२ रन प्राप्त भयो।
बलिङतर्फ एपीएफका कमल ऐरीले तीन मेडन राख्दै ११ रन दिएर चार विकेट लिए। शरद भेषवाकर र अभिनास बोहराले समान २–२ विकेट गिराए।
आजको जितसँगै एपीएफले दास्रो खेलमा दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।
समूह एबाट प्रदेश १ यसअघि नै बाहिरिसकेको छ। आजको खेलमा गण्डकी बाहिरिएपछि अब सेमीफाइनल प्रवेशका लागि आर्मी क्लब, एपीएफ र कर्णाली प्रदेश प्रतिस्पर्धामा छन्।