काठमाडौं- बुधबार राति फुलहामलाई हराउँदै म्यानचेस्टर युनाइटेड फेरि इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
फुलहामको मैदानमा सम्पन्न खेलमा उसले घरेलु टिमलाई २–१ गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।
जितका लागि युनाइटेडका एडिसन काभानी र पाउल पोग्वाले समान १–१ गोल गरे। तर खेलको पाँचौ मिनेटमा गोल गर्दै फुलहामका एडेमोय लोकमनले घरेलु टिमलाई सुरुआति अग्रता दिलाएका थिए।
तर खेलको २१ औं मिनेटमा काभानीले गोल गर्दै फुलहामको अग्रता भंग गरे। यससँगै पहिलो हाफको खेल बराबरी भएको थियो।
दोस्रो हाफको ६५ औं मिनेटमा पाउल पोग्वाले गोल गरेपछि भने युनाइटेडले अग्रता बनायो। र सोही अग्रताका साथ खेल जित्यो।
गएरातिको जितसँगै युनाइटेड पुनः एकपटक लिगको शीर्षस्थानमा उक्लिएको छ। युनाइटेड १९ खेलबाट ४० अंक बनाउँदै शीर्षस्थानमा पुगेको हो।
युनाइटेडभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी युनाइटेडभन्दा दुई अंकले पछि पर्दै दोस्रो स्थानमा छ।
त्यस्तै ३८ अंकका साथ लेस्टर सिटी तेस्रो स्थानमा छ भने लिभरपुल ३४ अंकका साथ चौथो स्थानमा छ। यता, पराजित फुलहाम रेलिगेसन जोनमा छ।