सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

थारू गाउँमा धमाधम भलमन्सा चयन 

पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक सन्तराम चौधरी कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भर्रीगाउँको नयाँ भलमन्सा चयन भएका छन्। 
 |  बुधबार, माघ ७, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

बुधबार, माघ ७, २०७७

धनगढी– थारू समुदायमा धमाधम परिवार र गाउँका अगुवा चयन सुरु भएको छ। 

triton college

थारू समुदायमा माघी पर्वलाई नयाँ आर्थिक वर्षका रुपमा लिइन्छ। यसै अवसरमा परिवारभित्र जिम्मेवारी हेरफेर तथा गाउँको अगुवा चयन गर्ने चलन छ। सोहीअनुसार गाउँमा भलमन्सा (बडघर) चुन्न थालिएको हो।

पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक सन्तराम चौधरी कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भर्रीगाउँको नयाँ भलमन्सा चयन भएका छन्। 

गाउँमा हालै सम्पन्न खोज्नीबोज्नी तथा माघी डेवानी (भुरा खेल) बाट उनले भलमन्साको जिम्मेवारी पाएका हुन्। उनले अब एक वर्षसम्म २३७ घरधुरी रहेको गाउँको नेतृत्व गर्नेछन्।  चौधरी ३० वर्षे सेवाबाट २०७५ असोज १ गते अवकाश पाएका थिए। 

माघी पर्वलाई थारू समुदायले नयाँ आर्थिक वर्षको रुपमा लिने गर्छ। थारू समुदायमा माघीमा परिवारभित्र जिम्मेवारी हेरफेर तथा गाउँको अगुवा चयन गर्ने चलन छ। 

Metro Mart
vianet

यस्तै धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भलमन्सामा सरोजकुमार चौधरी निर्विरोध चयन भएका छन्। 

उनले २६ औं पटक गाउँको नेतृत्वको जिम्मेवारी पाएका हुन्। सरोजकुमारले २०५२ सालदेखि निरन्तर गाउँको नेतृत्व गर्दै आएका छन्। 

भलमन्साको पदावधि एक वर्षको हुन्छ। राम्रो काम गर्नेले भने पटकपटक गाउँको नेतृत्व गर्न पाउँछन्। गाउँको नेतृत्व गर्ने उनी तेस्रो पुस्ताका हुन्। 

उनले भने, ‘मेरा बाजे र बुबाले जीवनभर गाउँको नेतृत्व गर्नुभयो। बुवाको मृत्युपछि २०५२ सालदेखि लगातार नेतृत्व गर्दै आएको छु।’

धनगढी उपमहानगरपालिकाको सबैभन्दा पुरानो बस्ती वडा नम्बर ८ धनगढी गाउँमा ४५ घर परिवारले भलमन्सा प्रथा स्वीकार गर्दै आएको छ। 

धनगढी उपमहानगरपालिका–१६, भादागाउँको भलमन्सामा सन्तबहादुर चौधरीले जिम्मेवारी पाएका छन्। 

उनले भलमन्साको जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ।

भादागाउँ थारू समुदायको नमुना गाउँ हो। शतप्रतिशत घरधुरी थारू समुदाय रहेको यो गाउँमा भादा होम स्टे सञ्चालन हुँदै आएको छ। 

भलमन्सा (बडघर) प्रथामा पुरुषले मात्रै नेतृत्व गर्दै आएकोमा पछिल्लो समय महिलाले पनि नेतृत्व गर्दै आएका छन्। 

घोडाघोडी नगरपालिका–१० लठैया गाउँको भलमन्सामा इन्द्रादेवी चौधरी चयन भएकी छन्। उनलाई दुई वर्षका लागि जिम्मेवारी सुम्पिएको छ।

थारू समुदायमा मुख्य व्यक्तिका रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया वा गोलाप्रथाबाट छनोट गरिन्छ। 

पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि गाउँटोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको थारू अगुवा बताउँछन्।

यस कारण छनोट गरिन्छ भलमन्सा

भलमन्सा (बडघर) ले गाउँघरमा हुने विकास निर्माणका काममा सहजीकरण गर्छन्। ससाना झैझगडा तथा वादविवाद मिलाउने जिम्मेवारी पनि उनीहरुकै हो।

गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्साका अतिरिक्त गुरुबा, चिराकी, चौकीदार, अघरियाजस्ता पदमा पनि विभिन्न व्यक्तिलाई छनोट गर्ने गरिन्छ। 

यस्तो परम्पराले गाउँमा एकता र सामूहिकताको विकास हुन्छ। साथै गाउँमा अनुशासन कायम गर्नमा टेवा पुग्ने थारू कल्याणकारणी सभा कैलालीका उपसभापति माधव चौधरीले बताए। 

थारू गाउँमा सदीयौंदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्त्व र सम्मान हुने उनको भनाइ छ।

गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुली बत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता (भलमन्सा) ले गर्ने थारू बुद्धिजीवी प्रभातकुमार चौधरीले बताए। 

भलमन्साको जिम्मेवारी वहन गर्ने अधिकांशले स्वयंसेवीका रुपमा काम गर्ने गरेका छन्। कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकका रुपमा खाद्यान्न उपलब्ध गराइन्छ। 

थारू संस्कृतिका जानकार अशोक चौधरीले समुदायको कलासंस्कृति, रीतिरिवाज जस्ता विशिष्ट पक्षको संरक्षण गर्न र समुदायको पहिचान जोगाउनकै लागि भए पनि यो प्रथा जीवन्त राख्न जरुरी भएको बताए।

भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा सदीयौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको देखिन्छ। 

तर, कतिपय बस्तीमा भने यो प्रथाको पुस्तान्तरण गर्न केही समस्या हुने गरेको छ। यो प्रथा समाज र गाउँप्रति उत्तरदायी हुँदाहुँदै पनि यसलाई जीवन्त राख्न युवापुस्ता मौन देखिँदा पुस्तान्तरण गर्न समस्या हुन सक्ने थारू अगुवाहरुको भनाइ छ। 

थारू समुदायको परम्परागत चलन संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण जस्ता कामलाई बचाइराख्न बडघरको ठूलो भूमिका हुने गरेको बडघर भलमन्सा महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र डगौराले बताए।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो समुदायको बसोवास छ। 

पूर्वी तराईका कतिपय जिल्लामा पनि यो समुदायको बसोबास रहे पनि रहनसहन, भेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ ।

यसरी सुरु भयो भलमन्सा प्रथा 

बडघरको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युगदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ। 

परापूर्वकालमा हुनेखाने परिवारलाई बडघर भन्ने गरिएको थारू अगुवाको भनाइ छ।

‘गाउँलेहरु सबैभन्दा धनी परिवारको अधीनमा रहेर काम गर्दै आएको धेरै पहिलेदेखि हो’, थारू अगुवा धनबहादुर चौधरीले भने, ‘समाजमा नीति निर्माण र अनुशासन कायम गर्नका लागि यो समुदायले एक जना नेतृत्वकर्ताको महसुस गरेअनुसार भलमन्सा नियुक्त गर्ने चलन सुरु भएको हुन सक्छ।’

२०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये थारू समुदायको जनसंख्या सात प्रतिशत अर्थात् १७ लाख ३७ हजार ४७० छ।

तर, थारू अगुवाले भने जनगणनामा त्रुटि हुँदा थारूको जनसंख्या कम देखिएको बताउँदै आएका छन्। 

थारू उत्थान मञ्च कैलालीको तथ्यांकअनुसार कैलालीमा ६०१, कञ्चनपुरमा २१७,  दाङमा २९१, बाँकेमा ४३, बर्दियामा ३४१ बडघरको संख्या छ। 

प्रकाशित: Jan 20, 2021| 10:54 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।