शनिबार, असोज ३, २०८३

निगमले पहिलोपटक मकाउमा उडान गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ। मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो। 

नयाँ गन्तव्यका रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन्। 

उनका अनुसार निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ। कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो।

निगमका अनुसार मंगलबार राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौं अवतरण गर्नेछ। मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कनेछन्। निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताइन्।

चार्टर्ड उडान भए पनि पहिलोपटक नयाँ गन्तव्यमा उड्न पाउँदा उत्साहित भएको निगमले भविष्यमा मकाउको बजार अध्ययन गरी यात्रुको अवस्था राम्रो भएमा सिधा उडान गर्ने योजना बनाएको छ। रासस

प्रकाशित: Jan 19, 2021| 12:23 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्