मंगलबार, चैत १०, २०८२

आयोगमा पदाधिकारी नियुक्त हुनेबित्तिकै दुई हजार शिक्षकको विज्ञापन गरिने

पदाधिकारी नियुक्त हुनेबित्तिकै स्थायी शिक्षकका लागि विज्ञापन गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं – शिक्षक सेवा आयोगले दुई हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ।  आयोगले मावि, निमावि र प्राथमिक तहका स्थायी शिक्षकको विज्ञापन गर्न लागेको हो।

National life

यस्तै आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापनका लागि सबै तयारी पूरा भएको जनाएको छ। 

आयोगमा अध्यक्ष र दुईजना सदस्य रहने कानुनी व्यवस्था छ। यतिबेला तीनै पद रिक्त छन्। आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस भए पनि सरकारले निर्णय गरेको छैन। 

पदाधिकारी नियुक्त हुनेबित्तिकै स्थायी शिक्षकका लागि विज्ञापन गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। 

उनले भने, ‘आयोगमा पदाधिकारीको नियुक्ति नभएसम्म प्रशासनिक काम गर्न सकिने अवस्था छैन। पदाधिकारीको नियुक्ति हुनेबित्तिकै रिक्त दरबन्दीमा विज्ञापन खुलाउँछौं।’ 

Laxmi sunrise bank
kumari

शिक्षा मन्त्रालयको निर्देशन र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको समन्वयमा दरबन्दी मिलानका लागि आन्तरिक गृहकार्य भइसकेको छ। 

रिक्त दुई हजार स्थायी शिक्षकको दरबन्दी पदपूर्तिका लागि अनुमति पाएको आयोगले जनाएको छ। 

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहअनुसार विज्ञापन खोलिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

शिक्षा ऐनअनुसार भने विद्यालय तहको संरचना आधारभूत र माध्यमिक गरी दुई तहका छन्। 

आयोगले अब प्रदेशअनुसार विज्ञापन गर्ने भएको छ। यसअघि विकास क्षेत्रअनुसार विज्ञापन हुँदै आएको थियो। 

शर्माले कक्षा १२ सम्मका लागि समेट्ने गरी विज्ञापन खुलाइने बताए। 

तर १२ कक्षासम्म पढाउनका लागि कुनकुन विषयमा कस्ता शिक्षक आवश्यक पर्छन् भन्नेमा सरकारले टुंगो लगाइसकेको छैन।

प्रवक्ता शर्माले भने, ‘आयोगमा पदाधिकारी नियुक्तिपछि कक्षा १२ सम्मको अनिवार्य विषयलाई समेट्ने गरी दुई हजार शिक्षकको विज्ञापन खुला हुन्छ।’

शिक्षा ऐनमा संशोधन भए पनि कक्षा १२ सम्म पढाउने शिक्षकको शैक्षिक योग्यताबारे अन्योल छ। 

यस्तै आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा पनि पदाधिकारी नियुक्तिपछि मात्रै हुने जनाएको छ। 

मरहठ्ठाले भने, ‘अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको विज्ञापन गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ। पदाधिकारी नियुक्त भएपछि तत्काल खोल्न सक्छौं।’ 

उनले स्थायी शिक्षकको विज्ञापनभन्दा अघि बढुवा र कार्यसम्पादन मूल्यांकनको विज्ञापन खुल्ने बताए। यसका लागि पनि आयोगमा पदाधिकारी नियुक्त हुनैपर्छ। 

प्रकाशित: Jan 18, 2021| 10:42 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्