शनिबार, असोज ३, २०८३

झुटो बिल बनाई राजस्व छली गर्ने क्रम बढ्दो

पछिल्लो समय झुटो बिलबिजक बनाएर राजस्व छली गर्ने क्रम बढेको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- पछिल्लो समय झुटो बिलबिजक बनाएर राजस्व छली गर्ने क्रम बढेको छ। राजस्व अनुसन्धान विभागका अनुसार धेरैजसोले झुटो बिलबिजक बनाई राजस्व छली गर्ने क्रम बढेको पाइएको जनाएको छ। 

अनुसन्धानका क्रममा आइतबार पनि झुटो बिलबिजक बनाई राजस्व छली गर्नेलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ।

विभागका अनुसार आइतबार बाराका अमिरी ठाकुरबाट ६ करोड ५२ लाख रुपैयाँ बिगो दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको छ। दायर मुद्दामा जरिवाना र कैद सजायको मागसमेत गरिएको छ।

विभागका अनुसार ठाकुरले शुलभ ट्रेडर्स कन्सर्नको नाममा वस्तु तथा सेवाको खरिद नै नगरी झुटो बिलबिजक जारी गरी राजश्व छली गर्दै आएका थिए।

आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७३/०७४ सम्म मूल्य अभिवृद्धि करबापतको २ करोड १५ लाख ८८ हजार रुपैयाँ राजश्व छली गरेको विभागको ठहर छ।

त्यस्तै आयकर तर्फ सो अवधिमा ४ करोड ३६ लाख २५ हजार ५२३ रुपैयाँ राजस्व छली गरेकोले ६ करोड ५२ लाख रुपैयाँ बिगो दाबीसहित कैदको माग गरिएको विभागले जानकारी दिएको छ।

विभागले राजस्व चुहावट ऐन २०५२को दफा २३ अनुसार कसुर ठहर भएकोले सोही अनुसार मुद्दा दायर गरिएको विभागको भनाइ छ।

प्रकाशित: Jan 18, 2021| 10:25 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्