काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अर्थतन्त्रलाई गति दिन लागि सबै देशका सरकारहरुलाई धेरै खर्च बढाउन आग्रह गरेको छ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जेभाका अनुसार सबै सरकारले खर्च बढाए त्यसले अर्थतन्त्रमा दिर्घकालीन प्रभाव पर्छ र रोजगारी, व्यापार तथा आपूर्ति शृंखला सुचारु भई अर्थतन्त्रमा उच्च अंकको आर्थिक वृद्धि हुन सघाउ पुग्नेछ।
जर्जेभाले रुसको गैदर इकोनोमिक फोरमलाई सम्बोधन गर्ने क्रममा खर्च नै कोभिड–१९ ले थला पारेको अर्थतन्त्र उकास्ने एकमात्र अचूक औषधी भएको भन्दै कुनै विशिष्ट नीति भन्दा पनि खर्च बढाउन सरकारले ध्यान दिनुपर्ने बताइन्।
आईएमएफले अर्थतन्त्र उकास्न र दुर्घटनाबाट बचाउनका लागि प्रत्येक सरकारले उत्पादन र उपभोगमा बढावा दिनुको विकल्प नभएको जनाएको छ। त्यस्तै उसले अर्थतन्त्रलाई बढाउन राज्यले बजेटमार्फत् दिइने राहत र मौद्रिक नीतिमा लचकता नै सबैभन्दा उपयुक्त माध्यम भएको पनि बताएको छ।
आईएमएफले कोभिड १९ को महामारीबाट पार पाउन खोप विश्वभरी आपूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको दाबी गरेको छ। हाल आईएमएफबाट ८३ वटा देशहरुले कोभिड–१९ महामारीबाट आक्रान्त अर्थतन्त्रलाई उकास्न सहयोग लिएका छन्।