काठमाडौं– सरकारले चालू आर्थिक वर्ष ०७७–०७८ मा डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नीति लियो। यसका लागि गत वर्ष नै ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ तयार भएको थियो, जसमा डिजिटल वित्तीय व्यवस्थाको विकासमा जोड दिइने उल्लेख छ। विद्युतीय भुक्तानी प्रणालीको प्रवर्द्धनमा उक्त फ्रेमवर्कले जोड दिएको छ।
संयोगवश ०७७ चैतदेखि देशभर लकडाउन लागू भयो कोरोना महामारीका कारण। कोरोना भाइरसको संक्रमणबाट बच्न आपसी दूरी कायम गर्नुपर्ने भयो। महिनौंसम्म घरबाट बाहिर नै निस्कन सम्भव भएन। यस्तो अवस्थामा वित्तीय कारोबार पनि असहज हुने नै भयो। फलस्वरुप डिजिटल कारोबारमा बढोत्तरी हुन पुग्यो।
सरकारले पनि बैंकिङ कारोबार डिजिटल गर्न आह्वान गरेपछि मानिसहरु यसमा अभ्यस्त हुन थाले। त्यसैलाई थप मद्दत पुग्नेगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् डिजिटल बैंकिङमा जोड दिने नीति लिँदै कोभिड–१९को असर रहुन्जेलसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत डिजिटल कारोबार निःशुल्क गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत गरिने कारोबारमा ग्राहकको आकर्षण बढ्दो छ। गत असारमा मोबाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ वटा कारोबार भएका छन्, जसमा १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँबराबर लेनदेन भएको छ। मंसिर मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङको कुल कारोबार संंख्या ८३ लाख ८६ हजार ४७० पुगेको छ। यसबाट ३० अर्ब २८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।
बैंक तथा वित्तीय संस्थाका मोबाइल एपका साथै कनेक्ट आईपीएसको माध्यमबाट हुने कारोबारमा पनि पछिल्लो समय आकर्षण देखिएको छ। गत असारमा कनेक्ट आईपीएसमार्फत् ६ लाख ९६ हजार ४४७ पटक कारोबार भएकोमा गएको मंसिरमा १२ लाख १७ हजार ३१० पटक भएको छ। असारमा ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएकोमा मंसिरमा यो रकम ९० अर्ब १ करोड ५० लाख पुगेको राष्ट्र बैंकको तथ्यांक छ।
इन्टरनेट बैंकिङ भने घट्यो
मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत् हुने कारोबार बढे पनि इन्टरनेट बैंकिङ भने तुलनात्मक रुपमा घटेको छ। गत असारमा ६ लाख ५३ हजार ४५९ इन्टरनेट बैंकिङमार्फत् १९ अर्ब ४ करोड ८० लाखबराबरको कारोबार भएको थियो। तर, मंसिरमा इन्टरनेट बैंकिङ घट्दै कारोबार संख्या २ लाख ४५ हजार २८६ र कारोबार रकम ७ अर्ब २० करोड ६० लाखमा सीमित भएको छ। सम्बन्धित बैंकको वेबसाइटमा गएर युजरनेम र पासवर्ड लगइन गरी गरिने कारोबार इन्टरनेट बैंकिङ हो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिरसम्मको आर्थिक एवं वित्तीय अवस्था सार्वजनिक गर्दै विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र राष्ट्र बैंकले गरेको प्रोत्साहनका कारण विद्युतीय भुक्तानी बढेको बताएको छ। राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएससहित क्युआर कोड, मोबाइल वालेट, एटीम कार्ड लगायतबाट हुने कारोबारलाई विद्युतीय कारोबारको रुपमा परिभाषित गरेको छ।