काठमाडौं– नबिल बैंकले एनबी इन्टरनेसनलाई लाभांश नदिने भएको छ। नेपाल राष्ट्र बैंकले रोक लगाएका कारण एनबीले लाभांश नपाएको हो।
गत आवको नाफाबाट एनबीले ३५.२६ प्रतिशत लाभांश पाउनुपर्ने थियो। नबिल बैंकमा ५० प्रतिशत सेयर रहेको एनबी इन्टरनेसनलको लगानी विवादास्पद छ। सोही कारण लाभांश वितरणमा रोक लगाइएको छ।
राष्ट्र बैंकले विवाद सुल्झेपछि मात्र लाभांश दिन भनेको छ। राष्ट्र बैंकले २०७६ फागुनमा नबिल बैंकमा अनुगमन गर्दा अनुगमनका क्रममा एनबी इन्टरनेसनलको लगानीबारे केही अस्पष्टता पाएको थियो।
त्यसपछि राष्ट्र बैंकले पटकपटक नबिल बैंकसँग छलफल गरिसकेको छ। तर लगानीको प्राकृतिक व्यक्ति को हो र लाभांश कसले पाउँछ भन्ने विषयमा राष्ट्र बैंक स्पष्ट हुन सकेको छैन।
नबिल बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारण र नेपाली लगानीकर्ताको लाभांश पारित गरे पनि विदेशी लगानीका रुपमा रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश पारित गरेन।
नबिल बैंकले गत आवको नाफाबाट ३५.२६ प्रतिशत लाभांश साधारणसभामा प्रस्ताव गरेको थियो। त्यसमध्ये साढे ३३ प्रतिशत नगद १.७६ प्रतिशत रकम कर प्रयोजनार्थ दिइएको छ।
एनबी इन्टरनेसनलमा ५१ प्रतिशत सेयर बंगलादेशको अब्दुल अवाल मिन्टुको छ। ४९ प्रतिशत सेयर सीजी इनोभेसन सिंगापुरको रहेको छ।
सीजी इनोभेसनमा उद्योगपति विनोद चौधरीका दुई छोरा राहुल र वरुणसँग ९९.५ प्रतिशत सेयर छ। उनीहरु दुवैसँग नेपाली नागरिकता छैन। ०.५ प्रतिशत मात्र उद्योगपति चौधरीसँग छ।
चौधरी बैंकले दिने लाभांशमध्येको अन्तिम हितकारी हुन्। सोही विवरण बैंकले नेपाल राष्ट्र बैंकलाई गत पुसको दोस्रो हप्ता बुझाएको थियो। विवरण अध्ययन भइरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।