काठमाडौं– पछिल्लो समय बजारमा भएको मूल्य वृद्धिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ।
फलामे छड, खाने तेल लगायतमा भइरहेको मूल्यवृद्धिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएको हो।
कार्यालयले सर्वसाधारणले प्रयोग गर्ने वस्तु उचित मूल्यमा बिक्रीवितरण भएनभएका बारेमा प्रभावकारी अनुमगन गर्न निर्देशन दिएको छ।
उपभोग्य वस्तु मापदण्ड तथा गुणस्तरबमोजिम उचित मूल्यमा बजारमा बिक्रीवितरण भएनभएका विषयमा थप प्रभावकारी हुने गरी अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा उल्लेख छ।
अनुमगनमा स्थानीय तहलाई समेत संलग्न गराउनुपर्ने निर्देशनमा उल्लेख छ।
यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेको मूल्यवृद्धिबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको थियो।
मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा मंगलबार बसेको केन्द्रीय अनुगमन समिति बैठकमा विभागले मूल्यवृद्धिका विषयमा व्यवसायीबाट आवश्यक कागजात माग गरेको र अनुगमनसमेत भइरहेको जानकारी गराएको थियो।
पछिल्लो समय फलामे छड, खाने तेल लगायतका वस्तु चर्को महँगो भएका छन्। सरकारले चुनाव घोषणा गरेका कारण पनि मूल्यवृद्धि भएको अनुमान छ।
यद्यपि नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पाँच महिनाको आर्थिक स्थितिअनुसार मुलुकको मूल्यवृद्धि दर ३ प्रतिशतभित्रै रहेको उल्लेख गरेको छ।